फिल्म ‘परालको आगो’को गीत ‘उडी जाउँ भने म पन्छी होइन’ रिलिज भएको छ । निर्माण टिमले सोमबार ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो । भिडियोमा चलचित्रका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन् । आफु बसेको ठाउँ भन्दा आफ्नो माया भएको ठाउँमा जान मन भएको भाव गीतमार्फत सुहानाले भावना पोखेकी छन् । यस गीतमा सुहाना थापालाई साँच्चै नै उत्कृष्ट अभिनय गराइएको छ ।
नेपाली गीत संगीतको पहिलो कम्पोजर तथा एरेन्जर शान्ती ठटालको संगीतमा रहेको यस गीतमा निशु शर्माले गाएकी छन् । साथै गीतको शब्द रचना मन बहादुर मुखियाले गरेका हुन् । नेपाली स्रोतामाझ असाध्यै लोकप्रिय रहेको यस गीतले फेरि पनि बेग्लै छाप छोड्न सक्ने निर्माण पक्षको भनाई छ । यस गीतको ओर्जिनल गायिका अरुणा लामा हुन् । उनले चार दशक अघि गाएकी थिइन् । जुन गीत अहिले पनि उतिकै समय सान्दर्भिक सुनिन्छ । निर्माण टिमले अरुणा लामा समर्पित भन्दै गीतमार्फत सम्झिएको छ । यस गीतको म्युजिक एरेन्ज बिनोद भुजेलले गरेका छन् ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन् । हरि ॐ सिने मेकर्स प्रा।लि।को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको यस भने फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् ।
लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने सम्पादन मिलन श्रेष्ठको छ। साथै रंग संयोजन कनाल कँवरको छ । फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ । त्यसैगरि फिल्मको मिक्सिङ मुकेश शाह,निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन् । यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन् । फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ ।
यसै फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करण बहादुर साउदको छ । सुलभी पोखरेल र सत्यम पोखरेल रहेको यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ । गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो ।