नेपाली संगीत बजारमा स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन् । हालै मात्र नयाँ गीत “याद” सार्वजनिक भएको छ । उक्त गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने गीत रचना स्वयं रिमा श्रेष्ठले गरेकी हुन् । संगीत भने रविन्द्र पौडेलले दिएका छन् ।
यस म्युजिक भिडियोका निर्देशक चर्चित भिडियो निर्देशक सोनाम पाख्रिन हुन् भने छायांकन दिनेश पराजुली र सम्पादन विकास दाहालले गरेका छन् । म्युजिक भिडियोमा डा. सुभाष आचार्य, रविन्द्र पौडेल र कृतिका बस्नेतको अभिनय देख्न पाइन्छ ।
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी पेशाले आइटी इन्जिनियर भए पनि उनलाई लेखन र कलाले कहिल्यै छोडेन । उनले बिछोड, माया–प्रेम तथा समाजमा सकारात्मक ऊर्जा दिने विषयवस्तुमा आधारित गीतहरू लेख्दै आएकी छिन् । व्यस्त जीवनशैलीका बीच पनि उनले नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी छिन् । उनले नेपालका थुप्रै चर्चित गायक–गायिकाहरूसँग सहकार्य गरिसकेकी छिन्, जसमा अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, प्राश्ना शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, पुष्पन प्रधान, राजेश पायल राई, रेवती राई र किरण गजमेर लगायतका प्रतिभाशाली कलाकारहरू समावेश छन् । उनी भन्छिन्, “लेखन कार्य गर्दा छुट्टै आनन्द प्राप्त हुन्छ।” उनले आफ्ना कृतिहरू ‘रिमा श्रेष्ठ वर्ल्ड’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएकी छिन् । विदेशको व्यस्त जीवन भए पनि उनले नेपाली कला, संस्कृति, भाषा र भेषभूषालाई कहिल्यै त्यागेकी छैनन् ।
विगत ६ वर्षदेखि Kansas City Nepalese Society संस्थामा उनले सल्लाहकारको रूपमा योगदान दिँदै आएकी छिन् । नेपाली संस्कृतिको जगेर्ना गर्न उक्त संस्थाले नयाँ वर्ष, तीज, होली, दशैं तथा देउसी–भैलो जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ । साथै, नेपालका विभिन्न राष्ट्रिय कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ ।
“याद” गीत विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न तथा हेर्न सकिन्छ ।