गीतकार सङ्घ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा गीतको भूमिका तथा गीतकारको हकअधिकार’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा बोर्डकै सभाहलमा आयोजित उक्त कार्यक्रममा चलचित्रमा गीतको सर्जनात्मक, सांस्कृतिक र व्यावसायिक भूमिकाबारे विस्तृत छलफल गरिएको थियो ।
आयोजकका तर्फबाट स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष थापाले नेपाली चलचित्र उद्योगमा गीतलाई केवल प्रचारको माध्यमका रूपमा मात्र नहेरी त्यसको सर्जनात्मक योगदान, गीतकारको श्रम, प्रतिलिपि अधिकार र रोयल्टीको प्रश्नलाई समेत गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले यस प्रकारका कार्यक्रमले चलचित्रमा गीतको इतिहास, आवश्यकता, प्रभाव र महत्वबारे चेतना विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री तथा वरिष्ठ कवि-गीतकार एसपी कोइराला, वरिष्ठ गायिका मिरा राणा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, वरिष्ठ गीतकार आनन्द अधिकारी तथा वरिष्ठ कवि-गीतकार श्रवण मुकारुङले वक्ताका रूपमा धारणा राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ गीतकार आनन्द अधिकारीले गीतलाई चलचित्रको ‘प्राण’ का रूपमा व्याख्या गर्नुभयो । चलचित्र केवल दृश्यहरूको क्रम नभई भावना, विचार र कथाको सशक्त माध्यम भएको उल्लेख गर्दै उहाँले यस्तो प्रभावशाली माध्यमभित्र गीतले कथालाई जीवन्त बनाउने, पात्रको अन्तर्मन उजागर गर्ने र दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्ने भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार कतिपय अवस्थामा एउटा गीतले पूरै कथाको भावधारा बोकेर दर्शकको मनमा दीर्घकालीन प्रभाव छोड्न सक्छ ।
उहाँले प्रविधिको तीव्र विकाससँगै चलचित्रको शैली, प्रस्तुति र सामग्रीमा आएको परिवर्तनबारे चर्चा गर्दै विशेषगरी हिंसात्मक सामग्रीको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गर्नुभयो । साथै चीन, हलिउड, बलिउड तथा नेपाली चलचित्रको विकासक्रमलाई समेत उहाँले आफ्नो प्रस्तुतिमा समेट्नुभएको थियो ।
त्यसैगरी प्रतिलिपि अधिकार र रोयल्टीको विषयमा बोल्दै संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले गीतकार नै गीतको पहिलो स्रष्टा भएको उल्लेख गर्नुभयो । उहाँले गीतको पुनःप्रयोग, रिमेक, सार्वजनिक प्रस्तुति वा पुनरुत्पादनका लागि गीतकारको अनुमति अपरिहार्य हुने बताउँदै बौद्धिक सम्पत्तिको संरक्षणका लागि स्पष्ट सहमति, अभिलेखीकरण र कानुनी सचेतना आवश्यक रहेको धारणा राख्नुभयो । चलचित्रमा समावेश गीतको सन्दर्भमा पनि गीतकारको अधिकार सुरक्षित रहनुपर्ने र रोयल्टी प्रणालीलाई कार्यान्वयनमुखी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
वरिष्ठ गायिका मिरा राणाले आफ्नो सांगीतिक यात्राको आरम्भ नै चलचित्र गीतबाट भएको स्मरण गर्दै गीतबिनाको चलचित्र भावनात्मक रूपमा अपूरो रहने बताउनुभयो । उहाँले चलचित्रलाई पूर्णता दिन गीत-संगीतको भूमिका अनिवार्य हुने र गीतकारलाई प्रमुख सर्जकका रूपमा सम्मान गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङले चलचित्रमा गीतको गहिरो प्रभावबारे चर्चा गर्दै गीत लेखनका क्रममा आफूले भोगेका अनुभवहरू सुनाउनुभयो। उहाँले चलचित्र क्षेत्रमा गीतकारलाई कतिपय अवस्थामा सिर्जनाकर्मीभन्दा उपयोगको वस्तुजस्तो व्यवहार गरिएको यथार्थतर्फ संकेत गर्दै स्रष्टाको सम्मान र सम्झौता संस्कृतिलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पूर्वमन्त्री तथा वरिष्ठ कवि-गीतकार एसपी कोइरालाले पनि चलचित्रमा गीतको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै गीतकार सङ्घ नेपालले गीतकारहरूको हकअधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो। चलचित्रमा गीतको भूमिका र गीतकारका अधिकारजस्ता विषयमा संवेदनशील बहस सुरु गरिएकोमा उहाँले आयोजक संस्थाहरूलाई धन्यवाद दिनुभयो ।
कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो कार्यक्रम गीतकार र चलचित्रकर्मीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने सेतु का रूपमा रहेको बताउनुभयो । उहाँले स्रष्टा र चलचित्रकर्मीको हकअधिकारको संरक्षणमा चलचित्र विकास बोर्ड सधैं प्रतिबद्ध रहने स्पष्ट पार्दै गीतकार सङ्घ नेपालसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
उक्त कार्यशालाले चलचित्रभित्र गीतको रचनात्मक, भावनात्मक र सांस्कृतिक शक्तिलाई पुनः स्थापित गर्नुका साथै गीतकारको हकअधिकार, रोयल्टी र प्रतिलिपि अधिकारका विषयलाई संस्थागत बहसको केन्द्रमा ल्याएको सहभागीहरूको निष्कर्ष रहेको थियो ।