माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) सुरु भएको दिनमा नै चलचित्र रोल नं १ को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले नयाँ प्रस्तुति चलचित्र रोल नं १ को पहिलो पोस्टर सार्वजनिक गरेको हो । यस कम्पनीले नेपालकै सर्वाधिक व्यापार गर्न सफल भएको ‘पूर्ण बहादुरको सारङ्गी‘ जस्ता चलचित्रको निर्माण गरेका थिए । व्यावसायिक रुपमा सफल भएको निर्माताले हौसिएर ‘अभिमन्यु–च्यापटर १‘ चलचित्र पनि निर्माण गरेको थियो । तर यस चलचित्रले भने व्यावसायिक सफलता हात पार्न सकेन ।
उक्त सार्वजनिक दुई पोस्टरमो विद्यार्थी जीवन, विद्यालयको संघर्ष र शैक्षिक सपनामा केन्द्रित रहेको प्रस्ट हुन्छ । चलचित्रको मूल मर्म, नेपाली समाजको यर्थाथप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।
सार्वजनिक दुई पोस्टरमध्ये एउटामा बाल–कलाकार निर्भिक रेग्मीसंगै चलचित्रका मुख्य पात्र अभिनेता मुकुन भुषाल र अभिनेत्री रेणु योगी ग्रामीण परिवेशको पहिरनमा देखिएका छन् भने अर्को पोस्टरमा बालक आफ्नो बुबाको पिठ्युँमा टाउको राखेर सुतेको भावानात्मक दुश्य रहेको छ ।
चलचित्रको ट्यागलाइन ‘हरेक विद्यार्थीको कथा‘ राखिएको छ । चलचित्रको शीर्षक ‘रोल नं १‘ ले प्रतिस्पर्धाको कुरा गर्छ, तर पोस्टरले त्यो ‘१‘ अंक हासिल गर्न एउटा निम्नवर्गीय परिवारले कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने देखाउँछ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्मातामा रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । यस चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका छन् ।
चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् । निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने छ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।