नेपाली सिने जगतमा क्यालेण्डरमा रातो अंक देख्ने बित्तिकै निर्माताहरुमा चलचित्रको प्रर्दशनका लागि होडबाजी चल्ने गर्छ । तछाड–मछाड गर्दै चलचित्र प्रदर्शन गर्नमा अगाढि बढ्छन् । नयाँ वर्ष वा बिदाको दिन नेपाली चलचित्रबीच ठूलो भिडन्त रहि आएको छ । सोही दिनहरुमा धेरै चलचित्रहरु एकैसाथ प्रर्दशनमा आउँने गर्छन् । यहि आउँदो नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै चैत्र अन्तिम साता र बैशाख पहिलो साता पारी नेपाली चलचित्रले प्रर्दशन मिति तय गरेका थिए । तर चलचित्र प्रर्दशनमा फेरबदल भएको देख्न सकिन्छ । सोही दिनमा प्रर्दशनमा आउँदा लगानी जोखिममा पर्ने वा व्यवसाय बाँडिने डर भन्न पनि सकिन्छ । त्यसैले यसपालि निर्माताहरुले आफ्नो चलचित्रको प्रर्दशन मिति पछि सारेका हुन् कि ?
चैत्र २७ गतेका लागि तीन चलचित्रबीच प्रतिस्पर्धा हुने तय थियो । माइकल चन्दद्धारा निर्देशित चलचित्र ‘राम नाम सत्य‘, सविर श्रेष्ठ निर्देशित चलचित्र ‘३६ को आँकडा र राजु गिरी निर्देशित ‘डल्लेले इन्ट्री मार्यो‘ सोही मितिमा प्रर्दशनमा आउने तयारीमा थिए । तर अहिले परिस्थितिमा फेरबदल भएको छ ।
पहिले नै केहि नसोचि निर्माताहरुले हतारमा चलचित्रको रिलिज मिति तय गर्छन् तर पछि आएर अनेक थरीका बाहाना बनाउदै पछि हट्ने गर्छन् । प्राविधिक समस्या भन्दै भाग्ने गर्छन् । रेखा थापा, पूजा शर्मा, निरुता सिंहको अभिनय भएको चलचित्र ‘३६ को आँकडा‘ले आफ्नो प्रर्दशन मिति पोस्टपोन्ड गरेका छन् । निर्देशक सबिर श्रेष्ठले प्राविधिक काम नसकिएको र प्रचारका लागि उपयुक्त समय नपुगेको भन्दै सोहि दिनमा चलचित्र प्रर्दशनमा नआउँने बताएका छन् ।
त्यस्तै, सागर लम्साल ‘बले‘ अभिनित ‘डल्लेले इन्ट्री मार्यो‘ चलचित्रले पनि निर्धारित मितिबाट पछि हटेको छ । निर्देशक राजु गिरीको भनाई अनुसार यस चलचित्रको पनि प्राविधिक काम बाँकी रहेको र प्रचार–प्रसार मा उपयुक्त समय नभएको कारण देखाउँदै चलचित्र रिलिज मिति सारेका छन् । यी दुई चलचित्र पछि हटेसंगै अब चैत्र २७ गते ‘राम नाम सत्य‘ सोलो रिलिज हुने भएको छ । माइकल चन्द निर्देशित चलचित्रमा विराज भट्ट, सुपुष्प भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी लगायत कलाकारहरुको अभिनय रहेको छ ।
तर, नयाँ वर्ष बैशाख १ गतेका दिन तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड‘ पनि रिलिज हुने तय छ । अहिले सम्मको रिलिज मिति हेर्दा यस चलचित्र पनि सोलो रिलिज हुने देखिन्छ । यस चलचित्रमा विपिन कार्की, मदनकृष्ण श्रेष्ठ, पञ्चमी घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ । नयाँ वर्ष भएकै कारण यस चलचित्रले दर्शक तान्ने दाबी निर्माण पक्षले गरेका छन् ।