चलचित्र विकास बोर्डले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई बोर्ड हलमा आयोजित विशेष कार्यक्रममा प्रमाणपत्र वितरण गरेको छ । नेपाली चलचित्र क्षेत्रलाई थप दक्ष, व्यावसायिक र अन्तर्राष्ट्रिय प्रतिस्पर्धायोग्य बनाउने उद्देश्यका साथ सञ्चालन गरिएका तालिमअन्तर्गत सहभागीहरूले प्रमाणपत्र प्राप्त गरेका हुन् ।
प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै बोर्डका अध्यक्षले सीपलाई औपचारिक मान्यता दिने प्रक्रिया भविष्यका अवसरसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे । उनले चलचित्र क्षेत्रमा केवल प्रतिभा मात्र होइन, प्रमाणित दक्षता, अनुशासन र पेशागत विश्वसनीयता पनि उत्तिकै आवश्यक रहेको बताए । विशेषगरी अन्तर्राष्ट्रिय चलचित्र, डिजिटल प्लेटफर्म र उच्च प्राविधिक परियोजनामा काम गर्दा यस्ता प्रमाणपत्रले कलाकार र प्राविधिकको योग्यतालाई स्थापित गर्न सहयोग पुग्ने धारणा व्यक्त गरिएको थियो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूको मेहनत, अनुशासन र सिकाइप्रतिको समर्पणको प्रशंसा गर्दै प्रमाणपत्रलाई केवल कागजी औपचारिकता नभई भविष्यको करियर निर्माणसँग जोडिएको महत्त्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरिएको थियो ।
बोर्डले पछिल्लो समय चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न विधामा एकसाथ तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । ड्रोन सञ्चालन, घोडाचढी, पौडी, एआई तथा अन्य प्राविधिक पक्षसँग सम्बन्धित यस्ता तालिमले कलाकार र प्राविधिकलाई व्यावसायिक रूपमा थप सक्षम बनाउने विश्वास बोर्डले लिएको छ ।
चलचित्र विकास बोर्डले आगामी दिनमा पनि नेपाली चलचित्र क्षेत्रका कलाकार, प्राविधिक तथा नयाँ पुस्तालाई लक्षित गर्दै यस्ता व्यावसायिक तालिमलाई निरन्तरता दिने जनाएको छ ।