नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ आगामी श्रृंखलाबद्ध प्रस्तुतिका लागि क्यानडातर्फ प्रस्थान गरेको छ । अमृत गुरुङ नेतृत्वको टोली शनिबार राती हङकङ हुँदै त्यसतर्फ उडेको हो । ब्यान्डले सदबरी, टोरन्टो र लन्डन (ओन्टारियो) मा प्रस्तुति दिने तय छ । पहिलो प्रस्तुति १० अप्रिलको शुक्रबार सदबरी सहरस्थित सदबरी कम्युनिटी एरेनाबाट सुरु हुनेछ ।
१३ अप्रिल, सोमबार ब्यान्डले टोरन्टोको ‘क्विन एलिजाबेथ थिएटर’ मा आफ्ना गीत सुनाउनेछ । मुख्य सहरको पश्चिम भागस्थित प्रदर्शनी केन्द्रमा पर्ने यो हल आधुनिक कन्सर्ट थलोका रूपमा प्रसिद्ध छ । यात्राको अन्तिम शो भने अप्रिल १८ शनिबार लन्डन सहरमा हुनेछ । त्यो दिन ‘लन्डन म्युजिक हल’ मा नेपथ्य गुन्जिनेछ । टोरन्टोमा हुने कन्सर्टका सबै टिकट विक्री भएको नेपालयले जनाइसकेको छ ।
‘क्यानाडामा बसोबास गर्ने नेपालीले देखाएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,’ ब्यान्डका अगुवा एवं मुख्य गायक गुरुङ भन्छन्, ‘नयाँ वर्षको बेला स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौँ ।’
‘नयाँ वर्षको क्षणलाई क्यानाडामा रहेका नेपालीका निम्ति उत्सवमय बनाउन हामीले नेपथ्यलाई निम्त्याएका हौँ,’ टोरन्टोका आयोजक दाजुभाइ इन्टरटेनमेन्टका छिरिङ शेर्पा भन्छन्, ‘कन्सर्टको लगभग दुइ हफ्ता अघि नै टोरन्टोको टिकट सकिएकोले यसपालाको जमघट भव्य हुने सङ्केत गरिसकेको छ ।’
कन्सर्टका लागि ६ कलाकार र ८ प्राविधिक एवं व्यवस्थापक गरेर १४ जनाको टोली अप्रिल त्यता लागेको हो । यो टोली अप्रिल २० सम्म त्यहाँ रहनेछ । क्यानाडाका तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।
ब्यान्डले तीन वर्षअघि त्यहाँका क्यालगरी, भ्यानकुभर र टोरन्टोमा श्रृंखलाबद्ध प्रस्तुति दिएको थियो । क्यानाडाका तीनवटै सहरमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समयअनुसार बेलुकीको ७ बजे ढोका खुला गरिनेछन् ।