एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कर्णाली र सुदूरपश्चिम क्षेत्रको चलचित्र सम्भावना, भाषा, संस्कृति र नीतिगत पक्षबारे केन्द्रित उक्त कार्यक्रमले चलचित्रकर्मी तथा सरोकारवालाबीच गहन बहस सिर्जना गरेको छ ।
कार्यक्रमलाई दुई चरणमा विभाजन गरी प्यानल डिस्कसन सञ्चालन गरिएको थियो । पहिलो चरणमा मोहन निरौला, जनकदीप पराजुली, लक्ष्मण सुनार र देवेन्द्र बजगाई सहभागी थिए भने पत्रकार लक्ष्मी बलायरले सहजीकरण गरेकी थिइन् । यस चरणमा कर्णाली क्षेत्रमा चलचित्र छायांकनका लागि आवश्यक लगानी, स्थानीय भाषा, भेषभूषा तथा पूर्वाधार विकासका विषयमा विस्तृत छलफल गरिएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व निर्देशक माधवराज खरेलले गर्नुभएको थियो । कार्यक्रमका संयोजक एभरेष्ट ग्यालरीका प्रबन्ध निर्देशक तथा कलाकार सनम कठायत रहेका थिए भने सञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन् ।
कार्यक्रममा सहभागी विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूले नेपाली चलचित्रमा सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्भावना, त्यहाँको सहभागिता र स्थानीय कथा–वस्तुहरूलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका थिए। सो क्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र नृत्य संघका अध्यक्ष जनकबहादुर कार्की, निर्देशक देव नेपाल, राजबहादुर साने, सुशील पोखरेल तथा कर्णाली चलचित्र महोत्सवका अध्यक्ष चक्रबहादुर चन्दलगायतले आ–आफ्ना धारणा राखेका थिए।
दोस्रो चरणको प्यानल डिस्कसन सञ्चारकर्मी डीबी खड्काले सहजीकरण गरेका थिए । उक्त सत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डीसी, माननीय ज्ञानेन्द्र शाही, माननीय ऐन महर, माननीय वासना थापा र अभिनेता दीपकराज गिरी सहभागी थिए। छलफलका क्रममा चलचित्रसम्बन्धी नीतिगत विषय, प्रस्तावित विधेयक, काली–कर्णाली क्षेत्रको प्राकृतिक सुन्दरता, भाषिक विविधता र छायांकनका प्रचुर सम्भावनाबारे गहन विचार–विमर्श भएको थियो ।
त्यसैगरी कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य वीरेन्द्र भट्ट, सन्तोषबाबु लोहोनी, चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ, वरिष्ठ कलाकार उत्तम के।सी।, उपेन्द्र तिमल्सिना, गीता अधिकारी, गोपाल ढकाल ‘छन्दे’, गीता नेपाल, धर्मेन्द्र आचार्य, राज टाइगर, इन्द्रबहादुर दोङ ‘खम्बे’, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाई, भीम बिसी, गायिका इब्सल सन्ज्याललगायत सुदूरपश्चिम र कर्णाली प्रदेशका कलाकार, सर्जक तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमले काली–कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मौलिक कथावस्तुलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ ।