नेपाली फिल्म ‘लालीबजार’ को निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको छ । फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै फिल्मको विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहेता पनि निर्माण पक्षले प्राविधिक रुपमा तयार भएपछि फिल्म प्रदर्शन अधिकार बिक्री गर्न लागेको हो ।
फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अब फिल्मको विदेश प्रदर्शनलाई लक्षित गर्दै वितरण सम्झौतामा अगाडि बढ्ने तयारी भइरहेको जनाएका छन् । उनका अनुसार डायस्पोरा अधिकार खरिदका लागि आएका प्रस्तावमा निर्माण समूहमा छलफल गरेर प्रदर्शन अधिकार बिक्री गरिनेछ ।
उनले फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै फिल्मको विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहेको बताए । गत फागुन २९ मा सार्वजनिक गरेको फिल्मको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ एक महिना नपुग्दै एक करोड पन्ध्रलाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ भने टिकटकमा हजारौं भिडिओ बनिसकेको छ ।
निर्माण कम्पनीका अनुसार फिल्म तीन साताअघि नै प्रदर्शनका लागि तयार भइसकेको हो । डायस्पोरा अधिकार खरिद गर्ने वितरकलाई प्राविधिक काम अन्तिम चरणमा हुँदा झन्झट हुने भएकाले फिल्म पूर्ण रूपमा तयार भएपछि मात्र अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न लागिएको जनाइएको छ ।
फिल्मका लेखक तथा निर्देशक यम थापाले नेपाली फिल्ममा नदेखिएको कथालाई दर्शक माँझ ल्याउन लागिएको बताए । उनले भने, ‘हामीले मनोरञ्जनसँगै सामाजिक दायित्व बुझेर लालीबजार तयार गरेका छौँ । नेपाली दर्शकका लागि यो विशेष हुनेछ ।’
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।
फिल्म ‘लालीबजार’ को प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ ।