नेपाली फिल्म ‘मितज्यू’ को टिजर युट्युबमा रिलिज भएको छ । टिजरले कथावस्तु, केन्द्रीय द्वन्द्व र चरित्र चित्रणलाई संक्षिप्तरुपमा प्रकाश पार्छ । फिल्ममा गाउँमा जीप हाँक्ने चालकको कथा छ ।
हराउँदै गएको मितेरी साइनोलाई टिजरमार्फत निर्देशकले झल्को दिलाएका छन् । मितेरी साइनोको चलन नयाँ पुस्तामा ओझेल पर्दै गएपछि निर्देशकले यो फिल्ममार्फत त्यो किस्सा उधिन्ने प्रयास गरेका छन् ।
अनिल बुढामगर निर्देशित फिल्म ‘मितज्यू‘मा सौगात मल्ल, दयाहाङ, राई तेरिया मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुनमगर, उमेश सोनाम, पवित्रा खड्का, चाहाना रानामगर, खड्गबहादुर पुनमगर लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई जनक घर्तीमगरले निर्माण गरेका हुन् । भारतीय रियालिटी शोहरूबाट उदाएकी तेरियाले यसबाट घरेलु फिल्ममा डेब्यू गरेकी हुन् ।