चलचित्र ‘बुकी’को पहिलो प्रिमियर शो जापानमा आयोजना हुने भएको छ । निर्माण पक्षले मुख्य पात्रहरूको झलक सार्वजनिक गर्दै प्रिमियरको मिति र स्थान घोषणा गरेको हो ।
चलचित्रको ‘वर्ल्ड प्रिमियर’ सन् २०२६ मे ६ तारिख, बुधबार जापानको ओसाका सहरमा हुनेछ । ओसाकास्थित ‘मिनातो कुमिन सेन्टर’मा बेलुका ५:३० बजेदेखि ९:३० बजेसम्म विशेष प्रदर्शनी आयोजना गरिने जानकारी पोस्टरमार्फत दिइएको छ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि यस प्रिमियरलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरेलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । पोस्टरमा भलिबलको नेट, कोर्ट र खेलाडीहरूको दृश्य समेटिएको छ, जसले चलचित्र खेलकुद—विशेषगरी महिला भलिबल—र संघर्षको कथामा आधारित रहेको संकेत गर्छ। साथै, हिमाली भूगोल र जनजीवनको झल्को पनि पोस्टरमा देख्न सकिन्छ।
पोस्टरमा सुरक्षा पन्त ‘नेपाल’ लेखिएको जर्सी लगाएर हातमा ट्रफी उचाल्दै विजय उत्सव मनाइरहेको अवस्थामा देखिन्छिन्, जसले उनको संघर्षपूर्ण र प्रेरणादायी यात्राको संकेत दिन्छ। रोशनी कार्की साधारण र हँसिलो लुक्समा प्रस्तुत छिन् भने देबेन्द्र बब्लु गम्भीर भूमिकामा जर्सीसहित देखिएका छन्। प्रकाश घिमिरे ढाका टोपीमा अभिभावक वा मार्गदर्शकको रूपमा प्रस्तुत हुँदा लक्ष्मीनाथ तिमलसिना खेल प्रशिक्षक वा टिम लिडरको भूमिकामा देखिन्छन्।
‘बुकी’ हिमाली क्षेत्रका पाटनहरूमा वर्षाको समयमा फुल्ने विशेष फूल हो । निर्माण पक्षका अनुसार चलचित्रले खेलकुद र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्नेछ। चलचित्रको छायांकन काठमाडौं, पोखरा र बागलुङको रमणीय ढोरपाटन क्षेत्रमा गरिएको छ।
विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको चलचित्रको निर्माता लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर र रमेश थापा हुन् । कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् । राजेश थापा र बसुन्धरा खरेल ‘क्रिएटिभ प्रोड्युसर’ हुन् भने जितु थापा र सुनील बुढाथोकी सह–निर्माताका रूपमा रहेका छन् ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको यस चलचित्रमा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन् । साथै, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, निशा बजगाईं, घनु जोशी, अनु दाहाल र सन्दिप बाबु लोहनीलगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
चलचित्रमा आशुका अर्याल एसोसिएट निर्देशक, आचार्य गोपाल चिफ असिस्टेन्ट निर्देशक तथा टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी सहायक निर्देशकका रूपमा संलग्न छन्। विकास गन्दर्भले छायांकन गरेका यस चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्।
श्याम मल्लको श्रृंगार, थम्मन थापाको प्रोडक्सन हेडिङ तथा राकेश दाहालको पब्लिसिटी डिजाइन रहेको चलचित्र ‘बुकी’ सन् २०२६ भित्र देशभर प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ।