नेपाली फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ, जहाँ मुख्य पात्र सुहाना थापा र प्रकाश सपूतबीचको घरझगडाको दृश्य प्रमुख रूपमा देखिन्छ । छिमेकीको भूमिकामा रहेका सौगात मल्ल र सिर्जना अधिकारीको जोडीलाई निकै मिलेको रूपमा चित्रण गरिएको छ । श्रीमतीलाई कुटेपछि खोज्न निस्किएको कथाले दर्शकलाई भावुक बनाउने संकेत ट्रेलरले दिएको छ ।
मार्मिक दृश्य र संवादमार्फत फिल्मको कथावस्तु रहस्यमय तथा सामाजिक द्वन्द्वमा आधारित रहेको देखिन्छ । निर्देशक लक्ष्मण सुनारले ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्ममार्फत उठान गर्ने प्रयास गरेका छन् । ट्रेलरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ ।
फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बाँनियालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
हरि ॐ सिने मेकर्स प्रा.लि. को निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् भने कथा तथा पटकथा सुशील देवकोटाले लेखेका छन् । फिल्ममा छायांकन संकल्प भुजेल, नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कँवरले गरेका छन् ।
यसैगरी, फिल्मको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर र ट्रेलर सम्पादन साहिल खानले गरेका हुन् । मिक्सिङ मुकेश शाहले गरेका छन् भने निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन् । निर्माण नियन्त्रक ईश्वर घिमिरे रहेका छन् ।
फिल्मको पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीत शान्ती ठटाल, सत्य–स्वरुप र प्रकाश सपूतले दिएका छन् । गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपूतको शब्द रहेको छ ।
भेषभूषा डिजाइन सुजन परियार, श्रृंगार मदन न्यौपाने तथा केश विन्यास रोनिशा अधिकारीले गरेका छन् । पोस्टर निर्माण आइडियल डिजाइनर्सले गरेको छ भने कला निर्देशन प्रतिक चौधरीले सम्हालेका छन् । मुख्य सहायक निर्देशक करण बहादुर साउद रहेका छन् ।
उल्लेखनीय रूपमा, गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित यस शीर्षकमा करिब ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए ।
फिल्मको वितरण आरआर फिल्म्सले गर्ने भएको छ भने ओएसआरले ओटीटी अधिकार लिइसकेको छ।