चर्चित कलाकारहरूको बलियो लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र तिहारको अवसर पारेर प्रदर्शनमा आउने भएको छ ।
तिहारको बिदालाई लक्षित गर्दै रिलिज गर्न लागिएको यस चलचित्रको देशव्यापी वितरण आरआर फिल्मस ले गर्ने भएको छ । वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ को टिम यस प्रोजेक्टलाई लिएर उत्साहित देखिएको छ ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले उपयुक्त मिति छनोट गरिएको बताउँदै दर्शकको राम्रो साथ पाउने विश्वास व्यक्त गरे । उनले भने, “वितरक टिमसँगको सहकार्यमा नै प्रदर्शन मिति घोषणा गरेका हौं । राम्रो मिति रोजेकाले व्यापार पनि सन्तोषजनक हुने अपेक्षा गरेका छौं।”
वितरक रोहित कट्टेलले चलचित्रको कन्टेन्ट र कलाकारहरूको बलियो उपस्थितिलाई आधार मानेर वितरणको जिम्मा लिएको बताए । उनका अनुसार तिहारजस्तो ठूलो चाडमा दर्शकले खोज्ने पूर्ण मनोरञ्जन यो चलचित्रले प्रदान गर्नेछ ।
‘पाँच पाण्डव’मा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा रहेका छन् । साथै दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र इभा गिरी लगायत कलाकारहरूको पनि महत्वपूर्ण भूमिका रहनेछ ।
काली रानी फिल्मसको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरिरहेका छन् । चैत २ गते काँकडभिट्टा बाट शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको यस फिल्ममा पुराना र नयाँ पुस्ताका कलाकारहरूको संयोजन रहेको छ ।
लेखक सुशील पौडेलका अनुसार ‘पाँच पाण्डव’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो, जसले महाभारतका पाँच पाण्डवको बिम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ । कथा, पटकथा तथा संवाद पनि पौडेलकै रहेको छ ।
चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् भने छायांकन श्याम तामाङले गरिरहेका छन् । फिल्मका अधिकांश दृश्यहरू झापा का विभिन्न रमणीय स्थानमा खिचिनेछन् भने बाँकी छायांकन काठमाडौं उपत्यका मा गरिने निर्माण टिमले जनाएको छ ।
हाल चलचित्रको छायांकन एचएमसी न्यू हिकोला होटलमा भइरहेको छ, जहाँ इन्टेरियर दृश्यहरू खिचिँदै छन् । त्यसपछि टोली अन्य स्थानतर्फ अघि बढ्ने निर्देशक निरौलाले बताएका छन् ।
यसअघि प्रस्तुतकर्ता नवीन श्रेष्ठले गत वर्ष लाज शरणम् निर्माण गरेका थिए ।