नेपाली फिल्म ‘लालीबजार’को ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ । ३ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण, समग्र मुड र केन्द्रीय द्वन्द्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।
फिल्मले आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राख्दै समाजसँगको संघर्षको कथा बुनिएको छ । अभिनेत्री स्वस्तिमा खड्काले वादी समुदायकी महिलाको भूमिकामा देखिएकी छन्, जसले मालिकको नियन्त्रणबाट आफ्नी छोरीलाई मुक्त गराएर शिक्षा र उज्ज्वल भविष्य दिन गरेको संघर्षलाई मार्मिक ढंगले चित्रण गरिएको छ ।
सार्वजनिक गरिएको ट्रेलरमा आमाको त्याग, पीडा र संघर्षलाई विशेष प्राथमिकता दिइएको छ । वादी समुदायका महिलाले भोग्नुपरेको यौन शोषणको कथा निर्देशक तथा पटकथा लेखक यम थापाले सशक्त रूपमा पर्दामा उतारेका छन् ।
फिल्मले नाकमा लगाइने ‘नत्थी’ जस्तो परम्परागत चिन्हमार्फत कसरी पुस्तौंदेखि महिलामाथि शोषण हुँदै आएको छ भन्ने देखाउँदै त्यसविरुद्धको विद्रोह र संघर्षलाई मुख्य कथावस्तु बनाएको छ । अभिनेता रवीन्द्रसिंह बानियाँले साहुको भूमिकामा अभिनय गरेका छन् ।
निर्माता म्याक्स दिपेश खत्रीका अनुसार स्वस्तिमाको बहुआयामिक अभिनयले दर्शकको मन जित्ने विश्वास गरिएको छ । फिल्ममा मुकुन्द श्रेष्ठ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा र अभय बराललगायत कलाकारको पनि अभिनय रहेको छ । षट्कोण आर्ट्सको ब्यानरमा बनेको ‘लालीबजार’ आगामी १८ बैशाखदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।