चलचित्र ‘एक मुठ्ठी बादल’को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरले चलचित्रमा समावेश कलाकारहरूलाई परिचित गराउँदै कथा पारिवारिक विषयवस्तुमा आधारित रहेको संकेत गरेको छ ।
पोस्टरको केन्द्रमा अभिनेत्री आँचल शर्मा प्रस्तुत भएकी छन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेको दृश्य देख्न सकिन्छ । घरभित्रको परिवेशले कसैलाई स्वागत गर्न पर्खिरहेको अवस्थालाई चित्रण गरेको छ । पाहुनाहरू घरभित्र प्रवेश गर्दा केवल भौतिक संरचना मात्र नभई भित्रको मौनता र भावनात्मक अवस्थालाई समेत देखाउने प्रयास गरिएको पोस्टरले संकेत गर्छ ।
पोस्टरको अग्रभागमा वरिष्ठ कलाकार निशा शर्मा र शेखर चापागाईं देखिएका छन् भने पछाडिको भागमा सहयोग अधिकारी, गौरव विष्ट र अस्मिता गौतम उभिएका छन् । उनीहरूको उपस्थितिले परिवार बाहिरका पात्रहरूको भूमिकालाई संकेत गरेको देखिन्छ ।
त्यसैगरी, भीमा मैनेली, उषा रजक, मनीष निरौला र अविरल प्रताप अधिकारीलाई एउटै परिवारका सदस्यको रूपमा प्रस्तुत गरिएको छ । उनीहरूबीच सम्बन्ध नजिक भए पनि धेरै कुरा नबोली राखिएको भाव पोस्टरमा झल्किन्छ ।
सार्वजनिक गरिएको अर्को पोस्टरमा भने निशा शर्मा, आँचल शर्मा र उषा रजक मात्र देखिएका छन् । उक्त पोस्टरमा पनि आँचललाई केन्द्रमा राखिएको छ भने अन्य दुई पात्रका उत्सुक दृष्टि उनीतर्फ केन्द्रित रहेको देखिन्छ ।
चलचित्र सहारा शर्माद्वारा लिखित तथा निर्देशित हो । यसका मुख्य निर्माता अभिमन्यु दीक्षित हुन् भने निर्माताहरूमा सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् । कार्यकारी निर्माता निकुन श्रेष्ठ रहेका छन् ।
चलचित्रको छायांकन लिन्ह डान गुयेन फानले गरेका हुन् भने प्रोडक्सन डिजाइन यशस्वी सभरवालले सम्हालेका छन् । सम्पादन गौरवकुमार मल्लिकले गरेका छन् भने सम्पादन सल्लाहकार दीपा भाटिया हुन् । भेषभूषा जानकी कडायत, मेकअप कीर्ति जोशी, कला निर्देशन अग्रणी ठकुरी झा तथा पोस्ट–प्रोडक्सन सुपरभिजन आश्मा गौतमले गरेका छन् ।