चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’को टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’को रिलिज मिति तय गरिएको छ । निर्माण टिमले हालै एक पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो ।
सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य चार कलाकारहरूको क्यारेक्टर लुक्स पनि देखाइएको छ । पोस्टरमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा तथा अभिनेता महेश त्रिपाठी फरक र आकर्षक अवतारमा प्रस्तुत भएका छन् ।
पोस्टरमा देखिएको कलाकारहरूको अनौठो प्रस्तुतीले फिल्मको कथा सस्पेन्स र रहस्यमय हुने संकेत दिएको छ । पोस्टरबाटै फिल्मप्रति दर्शकको चासो अझ बढ्ने अपेक्षा गरिएको छ । यसअघि फिल्म घोषणा गर्दा पनि निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो, जसले सुरुदेखि नै दर्शकको ध्यान तानेको थियो ।
फिल्मको निर्देशन बिक्की अगरवाल र श्रद्धा प्रसाईँले संयुक्त रूपमा गरेका छन् भने अनीश बुढाथोकी सहायक निर्देशकको रूपमा रहेका छन्। फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल र एलिसा भोगलगायत कलाकारहरूको अभिनय रहेको छ ।
सुमन अगरवालको कन्सेप्टमा निर्माण भएको फिल्मको कथा तथा पटकथा बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र बिश्वास तिमल्सिनाले लेखेका हुन् । फिल्मको छायांकन सुदिप बरालको टिमले गरेको हो । ‘ककाकिकी’को टाइटल आर्ट ट्राइडेन्ट कन्सेप्टले तयार पारेको हो भने पोस्टर डिजाइन कार्यालयले गरेको हो ।