चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार राति सम्पन्न मतदानमा कुल १४० जना सदस्य सहभागी भएका थिए ।
निर्वाचन परिणाम अनुसार समिर बलामी पुनः संघको अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि पनि अध्यक्षको जिम्मेवारी सम्हालिसकेका बलामीले ९५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत प्राप्त गरे ।
दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि अध्यक्ष बलामीले चलचित्र पत्रकारिताको व्यावसायिकता, मर्यादा र साख अभिवृद्धिका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, संघलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै चलचित्र क्षेत्रसँग सम्बन्धित पत्रकारहरूको हकहितमा केन्द्रित हुने बताएका छन् ।
उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा ७३ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नविन गिरीले ६२ मत प्राप्त गरे । उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्ष (महिला) मा दिपज्योती थापा ७५ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी सुष्मा कार्कीले ६२ मत पाइन् ।
महासचिव पदमा चार जनाको प्रतिस्पर्धा देखिएको थियो, जसमा गोपीकृष्ण चापागाईं ५४ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी मनिष कार्कीले ४४ मत प्राप्त गरे । अन्य उम्मेदवारहरू सीपी जैसी र पवन भट्टराईले क्रमशः १९ र १८ मत प्राप्त गरेका थिए ।
सचिव पदमा मदन रिजाल ९४ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी सुरेन्द्र थापा मगरले ४५ मत पाए । सचिव (समावेशी) मा महम्मद जलिम निर्विरोध चयन भएका छन् ।
कोषाध्यक्षमा मनिष अञ्जान दाहाल ७४ मतसहित विजयी हुँदा निशा बजगाईँले ६५ मत प्राप्त गरिन् । सह-कोषाध्यक्षमा अर्जुन गुरागाईं ६२ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी भोला सुवेदीले ४२ मत पाए ।
सदस्य पदका सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूमा सुशिल नेपाल, सालिकराम न्यौपाने, नबिन चापागाईं, दिपराज क्षेत्री, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा) तथा रतन बहादुर चन्द रहेका छन् ।