कुनै पनि सांगीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक \ गायिका गरी तीनै पक्षको नाम अनिवार्य रूपमा नाम भन्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् ।
शनिवार पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीतरसङ्गीतमा रचनाकार, सङ्गीतकार र गायकरगायिकाको भूमिका’ विषयक अन्तरक्रियामा सहभागीहरूले यस्तो माग गरेका हुन् । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले अवधारणापत्र प्रस्तुत गर्दै पोखरामा क्रियाशील सांगीतिक संस्थाका प्रतिनिधि, गायक र गायिका, सङ्गीतकार र गीतकारहरूसँग छलफलपछि उक्त अवधारणापत्र तयार पारिएको जानकारी दिए ।
सात बुँदामा प्रस्तुत अवधारणापत्रमा एक उत्कृष्ट साङ्गीतिक सिर्जनामा सबै पक्षको समान भूमिका रहने उल्लेख गर्दै रियालिटी सो, प्रतियोगिता तथा अन्य साङ्गीतिक कार्यक्रममा गीत प्रस्तुत गर्दा सम्बन्धित सबै स्रष्टाको नाम उच्चारण गर्ने परम्परा विकास गर्नुपर्नेमा जोड दिइएको छ । नृत्य प्रस्तुतिका क्रममा समेत उद्घोषक वा आयोजकले गीतकार, सङ्गीतकार र गायक\गायिकाको नाम अनिवार्य रूपमा घोषणा गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
त्यसैगरी, अवधारणापत्रमा गीतको समीक्षा गर्दा गीतकारको भावनाअनुसार शब्द र मर्मलाई सम्मान गर्न, समाजमा अपाच्य हुने शब्द प्रयोग नगर्न, रोयल्टी सम्बन्धित स्रष्टाको बैंक खातामा उपलब्ध गराउन, प्रतिलिपि अधिकारको संरक्षण गर्न तथा प्रविधिको सदुपयोगमार्फत स्रष्टाको अस्तित्व जोगाउन आग्रह गरिएको छ । कार्यक्रममा अवधारणापत्रप्रति सहमति जनाउँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले सञ्चारमाध्यमलाई स्रष्टाको नाम उच्चारणमा सचेत हुन आग्रह गरे । उनले स्रष्टाको पहिचान सुनिश्चित गर्न तथा रोयल्टी व्यवस्थापन व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराए ।
वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले प्रतिलिपि अधिकारबारे सबै सचेत र एकजुट हुनुपर्ने बताउँदै आफ्ना गीतहरू अरूको नाममा रेकर्ड हुने तथा प्रस्तुति हुँदा नामसमेत नलिइने अवस्थाले दुःख दिने गरेको अनुभव सुनाइन् । आगामी दिनमा यस्तो समस्या समाधानका लागि सबै पक्षले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो । विम्बकवि तथा गीतकार रमेश श्रेष्ठले स्रष्टाको पहिचानको लडाइँमा स्रष्टाले नै जित्नुपर्ने धारणा राखे । स्रष्टाबिना सिर्जना सम्भव नहुने उल्लेख गर्दै उनले स्रष्टाप्रति सम्मान हुनुपर्ने बताए ।
त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक तथा सङ्गीत प्रशिक्षक नवराज बरालले गीतकार, सङ्गीतकार र गायक र गायिकाबीचको समन्वय र संवादले नै उत्कृष्ट सङ्गीत सिर्जना हुने बताए । गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले पनि अवधारणापत्रप्रति समर्थन जनाउँदै आपसी अस्तित्व स्वीकार्नुपर्नेमा जोड दिए । गायक कर्णदासले देशविदेशमा हुने साङ्गीतिक कार्यक्रममा गीतसँग सम्बन्धित सबै स्रष्टाको नाम अनिवार्य उच्चारण गर्नुपर्ने बताए भने गायक रामभक्त जोजिजूले अवधारणापत्रका बुँदाहरू कार्यान्वयनमा लैजानुपर्ने धारणा व्यक्त गरे ।
गायक विनोद बानियाले विगतमा गीतकार मात्र पीडित हुने गरे पनि हाल गायक र गायिका र सङ्गीतकारसमेत पीडित हुने अवस्था आएको उल्लेख गर्दै सहकार्यबाट मात्र सबैलाई न्याय मिल्ने बताए । प्रविधिसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उनको जोड थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशका अध्यक्ष देवेन्द्र केसी ‘देवु’ र गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङलगायतले अवधारणापत्र सान्दर्भिक भएको बताएका थिए ।
सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित भित्तेपात्रो विमोचन गरिएको थियो भने २४ जना नयाँ आजीवन सदस्यलाई सदस्यता वितरण गरिएको थियो । कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष लाल कार्की ‘अञ्जान’ को स्वागतमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।