चलचित्र ‘महाराजधिराज’मा अभिनेत्री पूजा शर्मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई मुख्य भूमिकाका लागि अनुबन्ध गरेको जनाएको छ ।
यसअघि केकी अधिकारीलाई अनुबन्ध गरिसकेको टिमले कमर्सियल नायिकाको रूपमा स्थापित पूजा शर्मालाई भित्र्याएसँगै चलचित्रको लाइनअप थप सशक्त बनेको छ । यसै साता अभिनेता हेमन्त बुढाथोकी पनि चलचित्रमा आबद्ध भएका छन् । कलाकार अनुबन्ध प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा टिमले बलियो स्टारकास्ट तयार पारिरहेको छ ।
नयाँ वर्षको अवसरमा अभिनेता पुष्प खड्का मुख्य भूमिकामा अनुबन्धित भएका थिए । निर्माण पक्षले पोस्टरसहित उनको सहभागिताको औपचारिक घोषणा गरेको थियो ।
पिरियड ड्रामाको झल्को दिने ‘महाराजधिराज’ आगामी वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा छ । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको यस चलचित्रमा पुष्प, पूजा र केकीसँगै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट र आशा पौडेललगायतका कलाकारहरूको अभिनय रहनेछ ।
निर्देशक सेनको ड्रिम प्रोजेक्टका रूपमा रहेको यस चलचित्रमा करिब ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको संयोजन देखाउने उद्देश्यले टिमले व्यापक स्टारकास्ट अनुबन्ध गरेको हो । चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले बलियो कलाकार संयोजनअनुसार चलचित्र पनि उत्कृष्ट बन्ने विश्वास व्यक्त गरेका छन् ।
‘महाराजधिराज’को छायांकन सुनसरीस्थित श्रीलंका टापुबाट सुरु हुने र त्यसपछि काठमाडौं, भक्तपुर तथा कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा रमणीय स्थानहरूमा गरिनेछ। चलचित्रको छायांकन नवराज थापाले गर्नेछन् ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रको कथा तथा पटकथा निर्देशक सेन स्वयंले लेखेका हुन्। चलचित्रका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन् ।
निर्माण टिमका अनुसार ‘महाराजधिराज’लाई आगामी बडादशैंअन्तर्गत फूलपातीको अवसरमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।