निर्देशक गणेश देव पाण्डेको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पारी बुटोल’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख पात्रहरूलाई क्रमैसँग उनीहरूको फरक–फरक लुक्स र चरित्रमा प्रस्तुत गरिएको छ, जसले फिल्म ग्याङ्स्टर जनरामा आधारित रहेको स्पष्ट संकेत गर्छ ।
टिजरमा कलाकारहरूको प्रभावशाली अभिनयसँगै महेश पौडेलको जीवन्त छायाङ्कन, जटावेदा बेनर्जीको सशक्त ब्याकग्राउन्ड म्युजिक तथा र्यापर भ्योमाको गीतले आकर्षक संयोजन प्रस्तुत गरेको छ ।
लेखक तथा निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोल’ केवल ग्याङ्स्टर फिल्म मात्र नभई युवाहरू, उनीहरूको परिवार, जीवनका सङ्घर्ष र सफलता हासिल गर्ने दौडमा सामना गर्नुपर्ने विभिन्न चुनौतीहरूको कथा हो। बुटवलका वास्तविक स्थानहरूमा छायाङ्कन गरिएको यस चलचित्रले स्थानीय परिवेश र यथार्थलाई नजिकबाट प्रस्तुत गर्ने प्रयास गरेको छ ।
चलचित्रका पात्रहरू बुटवलकै वास्तविक मानिसहरू र उनीहरूको जीवन भोगाइबाट प्रेरित छन् । भाषा, बोलीचाली र शारीरिक हाउभाउलाई समेत वास्तविक अनुभवबाट उतारिएकोले कथालाई अझ विश्वसनीय बनाउने निर्माण टिमको विश्वास छ ।
पात्रहरूलाई यथार्थपरक बनाउन निर्माण टोलीले व्यापक तयारी गरेको थियो । करिब एक हजार कलाकारहरूको अडिसनबाट उपयुक्त कलाकार छनोट गरिएको थियो भने करिब छ महिनाको अभिनय कार्यशाला र एक महिनाको एक्सन वर्कसपपछि मात्र छायाङ्कन सुरु गरिएको थियो । ल्याक्सी श्रेष्ठद्वारा निर्मित यस चलचित्रमा मनीषा अधिकारी सह(निर्माताको रूपमा रहेकी छन् ।
फिल्ममा अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरिक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला, विक्रम श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ ।
त्यसैगरी, चलचित्रमा एनबी महर्जनको एक्सन निर्देशन, लोकेश बज्राचार्यको सम्पादन, मनिता सुन्दासको कला निर्देशन र रोहित बरालको लोकेसन साउन्ड रहेको छ । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गरेका हुन् । वास्तविक धरातलबाट उठेर निर्माण गरिएको ‘पारी बुटोल’ले नेपाली दर्शकमाझ नयाँ छाप छोड्ने अपेक्षा गरिएको छ ।