सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा लोकप्रियता कमाएकी इन्फ्लुएन्सर प्रशंसा रायमाझी अब नेपाली चलचित्र उद्योगमा प्रवेश गर्ने भएकी छन् । उनले आफ्नो पहिलो फिल्मका रूपमा ‘चिरञ्जीवी भवः’ मार्फत अभिनेत्रीको रूपमा यात्रा सुरु गर्ने भएकी हुन् ।
यो चलचित्र चर्चित हास्य कलाकार तथा निर्देशक कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को सहकार्यमा निर्माण हुन लागेको हो । नयाँ वर्ष २०८३ को अवसर पारेर गत मंगलबार फिल्मको औपचारिक घोषणा गरिएको थियो ।
टेलिभिजन क्षेत्रमा ‘भद्रगोल’ र ‘सक्किगो नि’ जस्ता चर्चित कार्यक्रममार्फत दर्शकको मन जितेका जिग्री र काकुको यो सहकार्यलाई चलचित्र क्षेत्रमा विशेष चासोका साथ हेरिएको छ । फिल्ममा निर्देशन दीपकप्रसाद आचार्यले गर्नेछन् भने कथा कुमार कट्टेलले तयार पारेका हुन् ।
‘चिरञ्जीवी भवः’ सामाजिक ड्रामा विधामा आधारित रहनेछ । कथावस्तु मुख्यतः दुई पुस्ताबीचको सोच र सम्बन्धमा देखिने भिन्नतामा केन्द्रित हुने बताइएको छ । लेखक कट्टेलका अनुसार कथा समकालीन परिवेशमै आधारित हुनेछ ।
फिल्मको लेखनमा सविन अधिकारी र बसन्त न्यौपाने पनि संलग्न छन् । यसअघि दीपकप्रसाद आचार्यद्वारा निर्देशित ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो भने कुमार कट्टेलको ‘लाज शरणम्’ ले पनि राम्रो व्यापारिक सफलता हासिल गरेको थियो ।
हाल फिल्मको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको निर्माण टिमले जनाएको छ । आगामी डेढदेखि दुई महिनाभित्र छायांकन सुरु गर्ने योजना बनाइएको छ ।
करिब आठ वर्षदेखि टेलिभिजनमा निरन्तर सहकार्य गर्दै आएका जिग्री र काकुको यो ‘ड्रिम प्रोजेक्ट’ ले नेपाली चलचित्र क्षेत्रमा नयाँ स्वाद ल्याउने अपेक्षा गरिएको छ । साथै, ठूलो फ्यान फलोइङ भएकी प्रशंसा रायमाझीको डेब्युले युवा दर्शकको आकर्षण अझ बढाउने विश्वास गरिएको छ ।