नेपाली चलचित्र ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सकिएको छ । सोमबार कास्कीको धिताल गाउँमा कलाकार राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम दृश्य खिच्दै फिल्मको ‘प्याकअप’ गरिएको हो ।
३५ दिनको तालिका बनाएर पोखराको अर्मलाकोट मन्दिरबाट सुरु गरिएको छायांकन ३७ दिनमा पूरा भएको निर्माण टिमले जनाएको छ । फिल्मको सुटिङ पोखरा आसपासका अर्मलाकोट, धिताल, घार्मी र बगरजस्ता मौलिक बस्तीहरूमा गरिएको छ ।
छायांकन अवधिभर निर्माण टोलीले मौसमका कारण ठूलो चुनौती झेलेको थियो । लगातार वर्षा भइरहँदा पनि सुटिङ रोकिन नदिई अघि बढाइएको थियो । अन्तिम चरणमा त करिब ३० घण्टासम्म निरन्तर छायांकन गरिएको निर्देशक आकास बरालले बताए । उनका अनुसार कठिन परिस्थितिका बाबजुद सेटमा उत्साह र रमाइलो वातावरण कायम थियो, जसलाई दर्शकमाझ पनि उतार्ने लक्ष्य रहेको छ ।
फिल्म सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथामा तयार भएको हो । चलचित्रमा विजय बराल लाई यसअघिको भन्दा फरक भूमिकामा प्रस्तुत गरिएको छ, यद्यपि उनको चरित्रबारे निर्माण पक्षले खुलाएको छैन ।
फिल्ममा विजय बरालसँगै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहेको छ । छायांकनअघि नै फिल्मको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक भइसकेको थियो ।
चलचित्रका कार्यकारी निर्माता मोती कार्की हुन् भने छायांकन निशाल पौडेल ले गरेका छन् । सम्पादन चानस पुन मगर, रङ्ग संयोजन राजेन्द्र मोक्तान, सङ्गीत अङ्कित बाबु अधिकारी र शब्द युवराज काफ्लेले तयार पारेका छन् ।
रोयल भिमसेन तथा ट्राइडेन्ट कन्सेप्ट टिमले पब्लिसिटी डिजाइन गर्ने यस चलचित्रलाई काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकाभित्र डीसीएनले वितरण गर्नेछन् । निर्देशक बरालका अनुसार ‘जिरो डिग्री’ यस वर्षको वडा दसैँअघि नै प्रदर्शनमा ल्याइने तयारी गरिएको छ ।