घोषणादेखि नै कलाकारको विषय गोप्य राख्दै आएको चलचित्र ‘बाः एक योद्धा’ले अन्ततः आफ्ना मुख्य पात्रहरू सार्वजनिक गर्न थालेको छ । छायांकन अन्तिम चरणमा पुगेपछि निर्माण पक्षले कलाकारबारे जानकारी बाहिर ल्याएको हो ।
यसअघि कुनै पनि औपचारिक विवरण नदिएको टिमले अभिनेता दिव्यदेव पन्त लाई मुख्य भूमिकामा अनुबन्ध गरिएको जानकारी दिएको छ । उनको भूमिकाबारे भने अझै खुलाइएको छैन ।
गत चैत ९ गतेदेखि छायांकन सुरु भएको फिल्मले सुरुदेखि नै कलाकारबारे रहस्य कायम राखेको थियो । तर, केही दिनअघि छायांकन स्थलबाट झरना थापा र उनकी छोरी सुहाना थापा का तस्बिर सार्वजनिक भएसँगै कलाकारबारेको जिज्ञासा केही हदसम्म हटेको थियो ।
झरना र सुहाना पहिलो पटक एउटै चलचित्रमा सँगै देखिँदैछन् । विशेष कुरा के छ भने, वास्तविक जीवनकी आमा–छोरी यी दुईले पर्दामा पनि आमा–छोरीकै भूमिका निर्वाह गर्नेछन् ।
चलचित्रका निर्देशक हरि लम्साल हुन्, जसले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन् । नेपाली संगीत क्षेत्रमा लामो अनुभव बटुलेका लम्सालले फिल्मको कथा र पटकथा पनि आफैं तयार पारेका छन्। उनले सामाजिक तथा भावनात्मक कथालाई केन्द्रमा राख्दै निर्देशन यात्रा सुरु गरेका हुन् ।
‘बाः एक योद्धा’ले एक बाबुको संघर्ष र त्यागको कथा प्रस्तुत गर्नेछ । सन्तानको उज्ज्वल भविष्यका लागि बाबुले भोग्ने पीडा, चुनौती र जीवनभरको संघर्षलाई फिल्मको मुख्य विषयवस्तु बनाइएको छ । निर्देशक लम्सालका अनुसार यो केवल मनोरञ्जनात्मक मात्र नभई भावनात्मक र सामाजिक सन्देश बोकेको चलचित्र हुनेछ ।
‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रका निर्माता वसन्त लम्साल हुन् । उनले यसअघि विपिन कार्की अभिनीत चलचित्र ‘कर्मा’ निर्माण गरिसकेका छन् ।
फिल्मको छायांकन शिवराम श्रेष्ठ ले गरिरहेका छन् भने मुख्य सहायक निर्देशकका रूपमा तारानाथ न्यौपाने रहेका छन् । हाल काठमाडौंका विभिन्न स्थानमा अन्तिम चरणको छायांकन भइरहेको छ । निर्माण पक्षले छायांकन सकिएपछि पोस्ट–प्रोडक्सनको काम पूरा गर्दै मात्र प्रदर्शन मिति घोषणा गर्ने जनाएको छ ।