नेपाली चलचित्र ‘लाइफ ड्यामेज’ मा समावेश गीत सार्वजनिक गरिएको छ । जेठ १ गते प्रदर्शन मिति घोषणा गरिएको उक्त चलचित्रको ‘बिउटीफूलम’ गीत राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत रिलिज गरिएको हो ।
सार्वजनिक डान्सिङ नम्बरको गीतमा एसडी योगीको संगीत, आदर्श सुशीलको शब्द रचना तथा एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ । गीतको भिडियोको कोरियोग्राफी किरण थापाले गरेका छन् ।
केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका छन् । उनले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयर समेत गरेका छन् ।
फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त र निमेष श्रेष्ठका साथै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन् । पहिलोपटक निर्देशनमा हात हालेका श्रेष्ठले ‘लाइफ ड्यामेज’ दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको ‘फेन्टासी कमेडी ड्रामा’ हुने बताएका छन् । कार्यक्रममा बोल्दै उनले चलचित्र हेरुञ्जेल रमाइलो हुने र दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताए ।
अभिनेत्री सुरक्षा पन्तले पनि सिनेमाको अवधारणा मन परेकोले आफूले काम गर्न स्वीकार गरेको बताइन् । चलचित्रमा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको छ भने देशव्यापी वितरणको जिम्मा बटरफ्लाई फिल्म्सले लिएको छ । गीतको भिडियो फन रिभोलुसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।