नेपाली फिल्म ‘परालको आगो’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । प्रदर्शनको पहिलो दिनदेखि नै फिल्मप्रति दर्शकको उल्लेखनीय उत्साह देखिएको छ, जसका कारण बिहानैदेखि सिनेमा हलहरू भरिभराउ भएका छन् ।
देशभर करिब डेढ सयभन्दा बढी शो पाएको यस फिल्मलाई दर्शकको मागलाई ध्यानमा राख्दै हल सञ्चालकहरूले उच्च प्राथमिकता दिएका हुन् । निर्माता सुशील पोखरेलका अनुसार अधिकांश हलहरू हाउसफुल रहेका छन् । उनले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया उत्साहजनक रहेको बताए ।
फिल्म निर्माण टोली पनि प्रदर्शनको पहिलो दिनदेखि नै विभिन्न हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । यसले फिल्मप्रतिको माहोललाई अझ उत्साहित बनाएको छ ।
१३५ मिनेट रनटाइम रहेको ‘परालको आगो’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । प्रसिद्ध साहित्यकार गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’मा आधारित यस फिल्मले सुरुदेखि नै दर्शकको चासो तानेको हो ।
फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
हरि ॐ सिने मेकर्स प्रा।लि।को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ। पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् भने भिएफएक्स समिर मिया र सत्यम रानाले तयार पारेका छन्। टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका छन् ।
फिल्मको पाश्र्व संगीत किरण तुलाधरले दिएका छन् भने संगीततर्फ शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको योगदान रहेको छ । गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका हुन् । सुलभी पोखरेल र सत्यम पोखरेल सह–निर्माता रहेको यस फिल्मको वितरण नेपालभर आरआर फिल्मसले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ ।