वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा बनेको चलचित्र ‘कमला मिस’ को प्रदर्शन मिति तय गरिएको छ । बिहीबार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै फिल्मलाई आगामी साउन २२ गतेदेखि प्रदर्शनमा ल्याउने निर्णय गरिएको हो ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । लाइन प्रोड्युसरको जिम्मेवारी पुष्कर लामाले सम्हालेका छन् । फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।
चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा वितरण गर्नेछन् । मनोवैज्ञानिक कथावस्तुमा आधारित यस फिल्ममा निर्देशक निर शाह स्वयंका साथै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको अभिनय देख्न सकिनेछ ।
प्राविधिक पक्षतर्फ चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुबेदीले गरेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा रहेका छन् ।
करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाह नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन् ।