कर्णाली प्रदेशका कथा, कला, संस्कृति तथा पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ आयोजना गरिने भएको छ । बिहीबार सुर्खेतस्थित होटल नमस्तेमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको विस्तृत कार्ययोजना तथा प्रारम्भिक कार्यक्रम सार्वजनिक गरिएको हो ।
‘घूमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नारासहित र ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ अभियानका साथ सुरु हुन लागेको महोत्सवको औपचारिक उद्घाटन आगामी वैशाख ११ गते (२४ अप्रिल २०२६) वीरेन्द्रनगरस्थित होटल शुभमा गरिने आयोजकले जनाएको छ । उद्घाटनकै दिन ‘चलचित्र पर्यटन संवाद’ कार्यक्रमसमेत आयोजना हुनेछ । कार्यक्रममा चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, संघीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, साथै चलचित्र क्षेत्रका प्रतिष्ठित निर्माता, निर्देशक र कलाकारहरूको सहभागिता रहनेछ ।
महोत्सवको दोस्रो दिन वैशाख १२ गते सल्यानको प्रसिद्ध पर्यटकीय स्थल कुपिण्डे दहमा ‘कुपिण्डे चलचित्र पर्यटन समारोह’ आयोजना गरिने कार्यक्रम तय गरिएको छ । यस कार्यक्रममार्फत कर्णालीका प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई चलचित्रमार्फत प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
महोत्सवले कर्णालीका लुकेका कथा, जीवनशैली, भाषा र भेषभूषालाई चलचित्रको माध्यमबाट विश्वसामु प्रस्तुत गर्ने उद्देश्य लिएको छ । पत्रकार सम्मेलनमा बोल्दै महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीमा सम्भावना प्रशस्त भए पनि चलचित्र र पर्यटन गतिविधि न्यून रहेको उल्लेख गर्दै यो महोत्सव परिवर्तनको कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै कर्णालीलाई अन्तर्राष्ट्रिय ‘सुटिङ हब’ का रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको छ ।
यस वर्षको महोत्सवको प्रमुख आकर्षणका रूपमा ‘चलचित्र कथा प्रतियोगिता’ समावेश गरिएको छ । कर्णालीका ओझेलमा परेका कथा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट कथालाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको नतिजा छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
चलचित्र र पर्यटनलाई जोडेर स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने तथा आयआर्जन बढाउने लक्ष्य लिएको महोत्सवले जलवायु परिवर्तनका असरबारे पनि चलचित्रमार्फत जनचेतना फैलाउने योजना बनाएको छ ।
पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले महोत्सवले कर्णालीको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा सूचना प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन् । कार्यक्रमको अन्त्यमा महोत्सवका सल्लाहकार डा. महेन्द्र कुमार मल्लले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।