अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण पक्ष र वितरकहरूबीच भएको सहमतिअनुसार चलचित्र आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो ।
चलचित्रको वितरण जिम्मा रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् । अभिनेत्री रेखा थापाले यस चलचित्रमार्फत ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन् । यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता चलचित्र निर्देशन गरिसकेकी छन् ।
यसपटक रेखा थापाले अभिनय नगरी पूर्ण रूपमा निर्देशनमा केन्द्रित भएकी छन् । साथै, उनले आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ बाहिर गएर काम गरेको यो पहिलो अनुभव हो, जुन नेपाली चलचित्र क्षेत्रमा स्थापित महिला निर्देशकका लागि दुर्लभ मानिन्छ ।
‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको मुख्य भूमिका रहेको छ । विशेष भूमिकामा उषा खड्गी पनि देखिनेछिन् । यस चलचित्रमा एकैसाथ चार पूर्व मिस नेपालहरूको उपस्थितिले विशेष चर्चा पाएको छ । त्यसैगरी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
निर्माण पक्षले यसअघि सार्वजनिक गरेका पोस्टरहरूमा कलाकारहरूको भावुक र रोमान्टिक प्रस्तुति देखाइएको थियो । गत चैत २८ गते २८ दिनको छायांकन सम्पन्न गरेको चलचित्र हाल पोस्ट–प्रोडक्सन चरणमा रहेको छ । चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् ।
चलचित्रमा सुदीप बरालको छायांकन, अनिरुद्ध आत्रेयको सहायक निर्देशन, राजन घिमिरेको संयोजन, प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको पोशाक डिजाइन, प्रिया कार्कीको मेकअप तथा चुडामणि (सीएम) को प्रोडक्सन रहेको छ ।
ध्रुव लम्सालको पटकथा रहेको यस चलचित्रले प्रेमकथामार्फत सामाजिक भावना र परिवेश प्रस्तुत गर्ने दाबी गरिएको छ । लम्साल यसै चलचित्रमार्फत १० वर्षपछि लेखनमा फर्किएका हुन् ।