नेपाली फिल्म ‘लालीबजार’मा गायक प्रकाश सपूतको नयाँ गीत समावेश गरिएको छ । ‘मै राम्री छु त नि’ बोलको उक्त गीतको डेढ मिनेट लामो अंश शुक्रबार निर्माता कम्पनी षट्कोण आर्ट्सले युट्युबमार्फत सार्वजनिक गरेको हो । गीतको पूर्ण संस्करण भने फिल्म प्रदर्शनपछि मात्र हेर्न पाइने निर्देशक यम थापाले जानकारी दिएका छन् ।
लोकलयमा आधारित यस गीतमा ‘मायालाई के दिऊँ म बैना’बाट चर्चित गायिका दीपिका बयम्बू मगरको स्वर रहेको छ । साथै, कोरस भोकलमा विन्दू बिसी, रन्जिता विश्वकर्मा, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकले साथ दिएका छन्। गीतको भिडियोमा मुख्य अभिनेत्री स्वस्तिमा खड्कासहित अन्य कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।
‘लालीबजार’ फिल्म नथिया प्रथा (कुमारित्व किनबेच) जस्तो संवेदनशील विषयलाई केन्द्रमा राखेर आमा–छोरीको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरिएको छ । फिल्ममा स्वस्तिमा खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, रमेश बादी र तारा शर्मा लगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय क्षेत्रमा डेब्यू गरेका छन् ।
निर्देशक यम थापाकै कथामा निर्माण भएको फिल्ममा सुशन प्रजापतीको छायांकन, मित्र डी. गुरुङको सम्पादन तथा यम थापा र प्रदीप भट्टराईको पटकथा तथा संवाद रहेको छ । साथै, कोरियोग्राफी प्रदीप लामाले गरेका छन् भने संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाले दिएका छन् ।
फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।