नेपाली चलचित्र ‘रोल नं १’को टाइटल गीत सार्वजनिक गरिएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रको शीर्षक गीत हालै रिलिज गरिएको हो ।
गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । सार्वजनिक गीतले नेपाली शिक्षा प्रणालीमा प्रचलित ‘र्याङ्किङ’ (श्रेणी) को प्रतिस्पर्धा र त्यसले बालबालिकामा पार्ने मानसिक दबाबलाई मुख्य विषय बनाएको छ । विशेषगरी ग्रामीण परिवेशका एक बालकको कथामार्फत यो सन्देश प्रस्तुत गरिएको छ ।
गीतका शब्दहरूले विद्यालयमा प्रथम हुने विद्यार्थीलाई मात्र महत्व दिने सामाजिक सोचमाथि प्रश्न उठाउँदै “अरू सबै मुर्ख, एउटै मात्र विद्वान” भन्ने प्रवृत्तिको आलोचना गरेका छन् । यसले बालमनोविज्ञानलाई केलाउँदै गलत शैक्षिक प्रणालीले बालबालिकामा पार्ने प्रभावलाई उजागर गर्ने प्रयास गरेको छ ।
भिडियोमा हिमाली भेगको मनमोहक दृश्य, ढुङ्गाका परम्परागत घर तथा ग्रामीण विद्यालयको जनजीवनलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । एकातिर बालक मैनबत्तीको उज्यालोमा अबेरसम्म पढ्न बाध्य देखिन्छ भने अर्कोतिर साथीहरूसँग खेल्ने र रमाउने उसको चाहना दबिएको देखाइन्छ । “रट्टा मार” भन्ने शिक्षण शैलीमाथि गीतले व्यङ्ग्य पनि गरेको छ ।
गीतले चलचित्रलाई थप प्रभावशाली बनाउने अपेक्षा गरिएको छ । उज्ज्वल भविष्यका लागि विद्यालय जाने बालबालिकामाथि प्रणालीले उल्टै कस्तो असर पारिरहेको छ भन्ने सन्देश यसमार्फत प्रस्तुत गरिएको छ ।
‘हरेक विद्यार्थीको कथा’ भन्ने स्लोगनसहित विनोद पौडेलद्वारा निर्माण गरिएको चलचित्र ‘रोल नं १’ आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसरमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।
जोन योञ्जनको निर्देशनमा बनेको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ ।
चलचित्रका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । महेश दवाडीले लेखेको यस चलचित्रको छायांकन म्याग्दी जिल्लाका विभिन्न रमणीय स्थानहरूमा गरिएको हो । डीओपीका रूपमा शिव राम श्रेष्ठले काम गरेका छन् ।
निर्माता पौडेलका अनुसार चलचित्र नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गरिनेछ । वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले लिएका छन् ।