तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ सफलतापूर्वक सम्पन्न भएको छ । “घुमौँ कर्णाली, हेरौँ कर्णाली” र “जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र” भन्ने नारासहित आयोजित महोत्सवले कर्णाली प्रदेशको कला, संस्कृति, पर्यटन सम्भावना तथा चलचित्र क्षेत्रको विकासलाई एकैसाथ जोड्ने मञ्च प्रदान गरेको छ ।
महोत्सवका क्रममा कर्णाली प्रदेश सरकारले चलचित्र क्षेत्रको विकासका लागि ठोस नीति तथा बजेटगत प्रतिबद्धता व्यक्त गरेको छ। त्यस्तै, कर्णाली प्रज्ञा प्रतिष्ठानमार्फत छायाङ्कन गर्न इच्छुक निर्माता–निर्देशकलाई विशेष सहकार्य र प्रोत्साहन उपलब्ध गराउने घोषणा गरिएको छ ।
चलचित्र विकास बोर्डको सक्रिय सहभागिता र सहकार्यमा सम्पन्न महोत्सवले कर्णालीलाई चलचित्र छायाङ्कनका लागि आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गरेको छ। साथै, कथा विकासको स्रोतभूमि र चलचित्र पर्यटनको सम्भावनायुक्त क्षेत्रका रूपमा कर्णालीलाई अघि बढाउन बोर्डले संस्थागत भूमिका निर्वाह गरेको आयोजकले जनाएको छ।
महोत्सवले कर्णालीलाई अन्तर्राष्ट्रिय सुटिङ हबका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यतर्फ सहमति निर्माण गरेको छ। यसै सन्दर्भमा सल्यानको कुपिण्डे दहमा आयोजना गरिएको विशेष चलचित्र पर्यटन समारोहले क्षेत्रका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायत चलचित्रकर्मी, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
चलचित्र विकास बोर्डले नेपाली चलचित्रलाई विविध भूगोल, संस्कृति र पर्यटनसँग जोड्ने नीति अनुरूप कर्णालीजस्ता सम्भावनायुक्त क्षेत्रमा सक्रिय सहकार्य गर्दै आएको जनाएको छ। बोर्डले यस्ता महोत्सवले कर्णालीको मौलिकता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानलाई विश्वमाझ पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
महोत्सवले कर्णाली प्रदेशलाई चलचित्र, पर्यटन र सांस्कृतिक पहिचानको संयुक्त गन्तव्यका रूपमा स्थापित गर्ने सन्देश दिएको छ।