आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले दमकमा ‘चलचित्र निर्देशन’ सम्बन्धी पाँचदिने तालिम सुरु भएको छ ।
चलचित्र विकास बोर्डको सहयोग तथा धिमाल चलचित्रकर्मी सङ्घको आयोजनामा शनिबारदेखि सुरु भएको उक्त तालिम आगामी बैशाख १६ गतेसम्म सञ्चालन हुनेछ । तालिमको उद्घाटन कोशी प्रदेशका माननीय नम्बरलाल धिमालले गर्नुभएको हो ।
आयोजकका अनुसार मातृभाषी चलचित्रमार्फत स्थानीय भाषा, संस्कृति, मौलिक कथा र समुदायको पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिमले सहभागीहरूलाई चलचित्र निर्देशनको आधारभूत ज्ञान, कथा प्रस्तुति, दृश्य भाषा, कलाकार परिचालन तथा निर्माण प्रक्रियासम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने लक्ष्य राखेको छ ।
तालिममा धिमाल समुदायका २० जना स्थानीय युवा चलचित्रकर्मी सहभागी रहेका छन् । कार्यक्रमको सहजीकरण चलचित्र निर्देशक अरुण प्रधानले गरिरहेको छ भने चलचित्र विकास बोर्डका अधिकृत अप्सरा समालको समेत सहभागिता रहेको छ ।
चलचित्र विकास बोर्डले मातृभाषी चलचित्र, स्थानीय सर्जक तथा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत संरक्षण र प्रवर्द्धन गर्न यस्ता सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
बोर्डका अनुसार मातृभाषी चलचित्रको विकास केवल चलचित्र निर्माणमा सीमित नभई भाषा, संस्कृति, पहिचान र स्थानीय प्रतिभा विकाससँग पनि गहिरो रूपमा जोडिएको विषय हो । दमकमा सुरु भएको यस तालिमले धिमाल समुदायका युवा चलचित्रकर्मीलाई आफ्नै भाषा र संस्कृतिका कथा चलचित्रमार्फत अभिव्यक्त गर्न थप प्रेरणा दिने विश्वास गरिएको छ ।