नेपाली फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले आइतबार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेको हो ।
उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । लोकलयमा आधारित गीतले तीन पात्रबीचको प्रेम सम्बन्धलाई जीवन्त ढंगले प्रस्तुत गरेको छ । “टाढा भइस नभन त कहिले, तिमीसँगै छु सानु म जहिले” भन्ने भाव गीत र भिडियोमा झल्काइएको छ ।
‘भुनभुन माहुरी’ गीतमा शब्द तथा संगीत श्रीकृष्ण बम मल्ल को रहेको छ भने स्वर पनि उनकै छ । उनलाई महिला स्वरमा लक्ष्मी मल्लले साथ दिएकी छन् । गीतको भिडियोमा निङ्मा डी लेप्चा को कोरियोग्राफी रहेको छ ।
अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा जनक घर्ती मगरको लगानी रहेको छ । मुख्य सहायक निर्देशकका रूपमा फिरोज खड्का रहेका छन् । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको छ ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगर सहित पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर लगायत कलाकारको अभिनय रहेको छ । यसै फिल्ममार्फत तेरिया फौजा मगर ले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् ।
आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ । यस फिल्म आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।