सल्यानको मनोरम पर्यटकीय गन्तव्य कुपिण्डे दह यतिबेला प्राकृतिक सौन्दर्य मात्र होइन, कर्णालीलाई विश्वसामु चिनाउने सिनेमाको आकर्षक केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । “घुमौँ कर्णाली, हेरौँ कर्णाली” र “जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र” भन्ने मूल नारासहित आयोजना गरिएको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव को दोस्रो दिन कुपिण्डे दहको किनारमा भव्य रूपमा सम्पन्न भएको छ ।
सुर्खेतबाट आरम्भ भएको यो महोत्सवले कर्णाली क्षेत्रको कला, संस्कृति र प्राकृतिक सौन्दर्यलाई चलचित्रमार्फत विश्वबजारमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । कार्यक्रमले कर्णाली प्रदेशलाई चलचित्र छायांकनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने तथा नयाँ सम्भावित लोकेसनहरूको खोजी गर्ने अभियानलाई समेत अघि बढाएको छ ।
कार्यक्रम सल्यानका प्रतिनिधि सभा सदस्य रमेश मल्ल को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वन, वातावरण तथा उद्योग–पर्यटन मन्त्री सुरेश अधिकारी तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थिति रहेको थियो ।
सो अवसरमा अध्यक्ष डिसीले कर्णालीलाई अन्तर्राष्ट्रिय स्तरको सुटिङ हबका रूपमा विकास गर्न सबै सरोकारवालाको एकीकृत प्रयास आवश्यक रहेको बताए । त्यस्तै, बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकी ले आफ्नो क्षेत्रमा छायांकनका लागि आउने फिल्मकर्मीलाई पूर्ण सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महोत्सवमा सहभागी चलचित्रकर्मीहरूले कर्णालीको प्राकृतिक छटा र मौलिक जनजीवनलाई सिनेमाको लागि अत्यन्त उर्वर विषयवस्तुका रूपमा औंल्याएका छन् । कार्यक्रममा सन्तोष सेन, विकास सुवेदी र प्रेम पुरी लगायतको उपस्थिति रहेको थियो भने पूर्व रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । यस अवसरमा स्थानीय कलाकार सपना शाही र संगीता बढुवाल लगायतले प्रस्तुत गरेको सांगीतिक तथा सांस्कृतिक कार्यक्रमले महोत्सवलाई थप जीवन्त बनाएको थियो ।
महोत्सवले सिनेमामार्फत पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने तथा जलवायु परिवर्तनबारे जनचेतना फैलाउने दीर्घकालीन लक्ष्य राखेको छ। साथै, नयाँ प्रतिभालाई प्रोत्साहन गर्न “चलचित्र कथा प्रतियोगिता” घोषणा गरिएको छ ।
रेडचेरी मिडिया को मूल आयोजना, नेपाल पर्यटन बोर्ड र स्थानीय तहको सहकार्य तथा चलचित्र विकास बोर्डको ऐक्यबद्धतामा महोत्सव सम्पन्न भएको हो । कुपिण्डे दह जस्तो प्राकृतिक सम्पदाको काखमा यस्तो ठूलो स्तरको सिने–महोत्सव आयोजना हुँदा स्थानीय बासिन्दा र कलाप्रेमीहरूमा उत्साह थपिएको छ ।