सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा आयोजना हुन लागेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’को प्री–इभेन्ट राजधानी काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न भएको छ । आयोजकका अनुसार महोत्सव आगामी वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।
प्री–इभेन्टको अवसरमा अफिसियल सेलेक्सनमा परेका १७ वटा चलचित्रलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीलगायत विभिन्न चलचित्रकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । ‘हिमाल, पहाड, तराई—कोही छैन पराई’ भन्ने मूल नारासहित गाउँ–गाउँमा नेपाली सिनेमा पुर्याउने लक्ष्यका साथ यसअघि गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा महोत्सव आयोजना गरिसकिएको उनले बताए। यसपटक भने पहिलोपटक तराई क्षेत्रमा महोत्सव हुन लागेको हो ।
सेलिब्रेटी नेपालका अध्यक्षसमेत रहेका सापकोटाका अनुसार ग्रामीण कथा र मधेशी संस्कृतिमा आधारित चलचित्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले सर्लाहीमा महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवका लागि ग्रामीण कथावस्तुमा आधारित फिचर, सर्ट तथा विभिन्न भाषाका ५० भन्दा बढी चलचित्र आवेदन परेका थिए । तीमध्येबाट १७ वटा चलचित्र छनोट गरिएको आयोजकले जनाएको छ। महोत्सवमा प्रदर्शन गरिने सबै चलचित्र दर्शकले निःशुल्क हेर्न पाउने व्यवस्था मिलाइएको छ । फिचर फिल्मतर्फ ‘सिटामोल’, ‘कोशेढुंगा’, ‘माइतीघर’, ‘मोहर’ र ‘गुन्युचोलो’ चयनमा परेका छन्। प्रमाणपत्र ग्रहणका लागि सम्बन्धित चलचित्र टोलीहरूको उपस्थिति रहेको थियो ।
महोत्सवको मुख्य उद्देश्य नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउनु, नियमित रूपमा चलचित्र हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनु तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्नु रहेको अध्यक्ष सापकोटाले बताए। उनका अनुसार पाँचौँ संस्करणसम्म आइपुग्दा महोत्सवले आफ्नो प्रतिष्ठा थप सुदृढ बनाएको छ ।
महोत्सव आयोजना गर्न चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाबीच सहकार्य रहेको जनाइएको छ ।