नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले कथावस्तु, पात्र र केन्द्रीय द्वन्द्वलाई मुख्य रूपमा प्रस्तुत गरेको छ ।
ट्रेलरमा निर्देशक सहारा शर्माले विवाह र पारिवारिक सम्बन्धभित्र लुकेको जटिलता, सोच र दृष्टिकोणलाई सरल ढंगले चित्रण गरेकी छन् । मुख्य पात्रका रूपमा देखिएकी आँचल शर्मा विवाहप्रति असन्तुष्ट देखिन्छिन्, जबकि परिवार भने विवाहलाई सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने गरेको देखिन्छ ।
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता अभिमन्यु दीक्षित तथा कार्यकारी निर्माता निकुन श्रेष्ठ रहेका छन् । निर्माण टिममा जर्मनीकी सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि संलग्न छन् । छायांकन भियतनामकी लिन्ह डान गुयेन फानले र सम्पादन भारतकी दीपा भाटियाले गरेको हो ।
चलचित्रमा आँचल शर्मासहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायत कलाकारको अभिनय रहेको छ । यस चलचित्र आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।