चलचित्र ‘मालती मंगले’ को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरस्थित लबिम मलको क्युएफएक्स सिनेमाजमा आयोजित विशेष कार्यक्रममा निर्माण टिमले ट्रेलर दर्शकमाझ प्रस्तुत गरेको हो ।
सार्वजनिक ट्रेलरले चलचित्रलाई पूर्ण रूपमा पारिवारिक र सामाजिक कथामा आधारित रहेको संकेत गरेको छ । कथामा मालती (वर्षा राउत) र मंगले (विजय बराल) बीचको प्रेम, सम्बन्धमा आउने उतारचढाव र पारिवारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ । साथै, मेक्सम गौडेलले हरि नामक नकारात्मक भूमिकामा अभिनय गरेका छन् । साथीभाइबीचको सम्बन्ध, त्यसमा आउने उतारचढाव तथा समाजमा रहेको छोरा–छोरीबीचको विभेदकारी सोचलाई पनि ट्रेलरमा समेटिएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसहित निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवाली र अन्य टिम सदस्यहरूको उपस्थिति रहेको थियो ।
चलचित्रमा विजय, वर्षा र मेक्सम, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह(निर्माताका रूपमा रहेका छन् । महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि संगीत र डिकेश खड्गीको ध्वनि मिश्रणले चलचित्रको प्राविधिक पक्षलाई बलियो बनाएको छ ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण भएको यस चलचित्रको कथा निर्देशक प्रकु पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन् ।
यसअघि चलचित्रको टिजर तथा ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ र ‘झ्याम पारम्’ गीतहरू सार्वजनिक भइसकेका छन्, जसले दर्शकमाझ राम्रो चर्चा पाएका छन् । आरआर फिल्म्समार्फत वितरण हुने ‘मालती मंगले’ ले वैशाख २५ गतेदेखि दर्शकलाई भरपुर मनोरञ्जन दिने निर्माण टिमको विश्वास रहेको छ।