नेपाली चलचित्र ‘बा : एक योद्धा’ को आधिकारिक प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षका अनुसार चलचित्र आगामी भदौ १९ गतेदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउनेछ ।
चलचित्रको शीर्षकले नै यो शुद्ध सामाजिक कथामा आधारित हुने संकेत गर्छ । कथामा एक बाबुले आफ्नो सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जिम्मेवारीलाई ‘योद्धा’का रूपमा प्रस्तुत गरिनेछ। विशेषगरी ग्रामीण र सहरी परिवेशमा बुबाले भोग्ने चुनौतीहरूलाई चलचित्रले जीवन्त रूपमा चित्रण गर्ने अपेक्षा गरिएको छ ।
निर्देशक हरि लम्सालका अनुसार वितरकहरूसँग भएको सहमति अनुसार चलचित्रलाई कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा ल्याउने तयारी गरिएको हो । नेपाली संगीत क्षेत्रमा धेरै चर्चित र कालजयी गीतहरू दिएका लम्सालले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका हुन् । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा र पटकथा पनि लम्साल स्वयंले तयार पारेका छन् ।
संगीतकारका रूपमा स्थापित लम्सालको निर्देशन कस्तो रहनेछ भन्ने विषयमा दर्शकमाझ चासो र उत्सुकता देखिएको छ । चलचित्रका निर्माता वसन्त लम्साल हुन्, जसले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर ‘कर्मा’ निर्माण गरिसकेका छन् ।
चलचित्रले नेपाली समाजको संवेदनशील र मार्मिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ। गत चैत ९ गतेदेखि छायांकन सुरु गरिएको यस प्रोजेक्टले सुरुमा कलाकारहरूको नाम गोप्य राख्दै ‘सस्पेन्स’ सिर्जना गरेको थियो । चलचित्रको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन् ।
यस चलचित्रमा शिवराम श्रेष्ठको छायांकन रहेको छ । उनले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता चर्चित चलचित्रहरूमा काम गरिसकेका छन्, जसले यो चलचित्रको दृश्य पक्ष पनि बलियो हुने संकेत गर्छ ।
केही दिनअघि भने निर्माण टिमले अभिनेत्री झरना थापा, उनकी छोरी सुहाना थापा र अभिनेता दिव्यदेव पन्त मुख्य भूमिकामा रहेको जानकारी सार्वजनिक गरेको छ । झरना र सुहानाले पहिलो पटक एउटै चलचित्रमा अभिनय गर्दैछन्, जहाँ उनीहरू वास्तविक जीवनझैँ आमा–छोरीकै भूमिकामा देखिनेछन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टले यसअघि पनि स्तरीय प्रोजेक्टहरू निर्माण गर्दै आएकाले ‘बा : एक योद्धा’ बाट दर्शकले भावनात्मक र सामाजिक सन्देश बोकेको मनोरञ्जनात्मक सिनेमा पाउने अपेक्षा गरिएको छ ।