नेपाली चलचित्र क्षेत्रमा ‘गौथली’ एक भावनात्मक र स्थापित नामका रूपमा चिनिन्छ । प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा झण्डै दुई दशकअघि निर्माण भएको यो चलचित्र प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको थियो । अब सोही विरासतलाई निरन्तरता दिँदै नयाँ स्वरूपमा ‘गौथली’ पुनः दर्शकमाझ आउने तयारीमा रहेको छ ।
निर्माण पक्षले वितरकसँगको सहमति पछि चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति साउन १ गते (जुलाई १७) तय गरेको छ ।यस नयाँ संस्करणको निर्देशन डा. कपिल रिजालले गरेका हुन् । यसअघि उनले अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘ह्यारीकी प्यारी’ निर्देशन गरिसकेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रमा सरला रिजाल कार्यकारी निर्माता रहेकी छन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह(निर्माताका रूपमा रहेका छन् । डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद लेखन निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले गरेका छन् ।
चलचित्रमा नायक अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काको जोडी मुख्य भूमिकामा देखिनेछ । उनीहरूसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीजस्ता कलाकारहरूको अभिनय रहेको छ । साथै, बाल कलाकार अंशु ओली र प्रिन्स नेपाली पनि फिल्ममा देखिनेछन् ।
निर्माण पक्षका अनुसार ‘गौथली’ शब्दको प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यसँग जोडिएको छ, जसले चलचित्रको भावनात्मक पक्षलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने पार्श्व संगीत एलिस कार्कीले दिएका छन् । हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको यस चलचित्रमा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन् ।
साथै, आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशकका रूपमा रहेका छन्। ध्वनि मिश्रण मुकेश शाह, रङ संयोजन राजेन्द्र मोक्तान तथा कोरियोग्राफी रामजी लामिछाने र मौसम हिमालीले गरेका छन् ।
‘गौथली’ लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ।डी। कम्पनीले वितरण गर्ने भएका छन् भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ । घर, परिवार र सम्बन्धको आत्मीयता प्रस्तुत गर्ने यो चलचित्रले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ ।