नेपाली फिल्म मितज्यू अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय रूपमा अगाडि बढेको छ । मंगलबार निर्माण पक्षले हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको जानकारी दिएको हो ।
फिल्मका निर्माता जनक घर्ती मगरका अनुसार हङकङमा प्रदर्शनका लागि पाथिभरा इन्टरटेनमेन्टले अधिकार लिएको छ भने जापानका लागि वाउ इन्टरटेनमेन्ट, साउथ कोरियाका लागि नेपाल मगर संघ, माल्टाका लागि नेप फाइभ इन्टरटेनमेन्ट र पोल्याण्डका लागि सोल्टी इभेन्टले अधिकार खरिद गरेका छन् । हालसम्म भने ६ देशमा फिल्म ‘सोल्ड आउट’ भइसकेको छ ।
फिल्ममा सौगात मल्ल, दयाहाङ राई र अन्तर्राष्ट्रिय रूपमा चर्चित नृत्यांगना तेरिया फौजा मगरको मुख्य भूमिका रहेको छ । तेरियाको यो डेब्यु फिल्म भएकाले पनि सुरुबाटै चर्चा पाएको हो ।
ग्रामीण परिवेशमा आधारित यस फिल्ममा प्रमुख कलाकारहरूसँगै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगरलगायतको अभिनय रहेको छ ।
निर्देशक अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको छ। संगीत श्रीकृष्ण बम मल्लको रहेको छ भने स्वरमा श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्ल रहेका छन् । मुख्य सहायक निर्देशक फिरोज खड्का हुन् ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्ने छ भने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ । फिल्म आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।