नेपाली फिल्म ‘काजी’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ झलक प्रस्तुत गरेको हो ।
सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी रोमान्टिक भावमा देखिएका छन् । उनीहरू एकअर्कालाई अँगालो हालेर उभिएको दृश्यले प्रेमको गहिराइ झल्काउँछ । पोस्टरले कथा प्रेम र जीवनका संघर्ष वरिपरि घुमेको संकेत गर्छ ।
पहिलो नजरमै विपिन ढाका टोपी, सर्ट र गञ्जीमा देखिन्छन् भने केकी रातो सारी, हरियो ब्लाउज, सिन्दूर र टीकासहित प्रस्तुत भएकी छन् । यी पहिरनले नेपाली संस्कृति र पारिवारिक सम्बन्धको झल्को दिन्छ ।
पोस्टरको पृष्ठभूमिमा गाउँघरको वातावरण चित्रित गरिएको छ । तोरीका फूलले ढाकिएको खेत र पुरानो शैलीको घरले फिल्म ग्रामीण परिवेशमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । निर्माण पक्षका अनुसार ‘काजी’ भावनात्मक तथा सामाजिक कथामा आधारित फिल्म हो, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विविध पाटा उजागर गर्छ ।
यसअघि फिल्मको पोस्टर र टिजर सार्वजनिक भइसकेको छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘काजी’लाई प्रदीप भारद्धाजले लेखेका हुन् । असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्ममा नेहान रिजाल र विकासराज जोशी निर्माता रहेका छन् ।
फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र दिक्षिता अर्यालको अभिनय रहेको छ ।
श्रीराम बालाजी फिल्म्सले फिल्मलाई देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरेको छ । यस फिल्म आगामी ८ जेठदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।