पोस्ट–प्रोडक्सन चरणमा रहेको नेपाली फिल्म ‘बब डाई’का लागि गायक कुशल पोख्रेलले नयाँ गीत गाएका छन् । उक्त गीतको भिडियो छायांकन हालै सम्पन्न भएको छ । सोमबार र मंगलबार ललितपुरको भैसेपाटी क्षेत्रमा भिडियो खिचिएको निर्माण टिमले जनाएको छ ।
गीतमा शब्द र स्वर दुवै कुशलकै रहेको छ भने संगीत बेश चर्चिल भुसालले तयार पारेका हुन् । मिक्सिङ र मास्टरिङको काम केपासले सम्हालेका छन् । कुशल यसअघि डेढ वर्षअघि सार्वजनिक ‘पैसा’ गीतबाट चर्चामा आएका गायक हुन् । ‘बब डाई’मार्फत उनले अभिनयमा समेत डेब्यु गरेका छन्, यद्यपि अन्य फिल्ममा गीत भने गाइसकेका छन् ।
केही समयपछि सार्वजनिक गर्ने तयारी गरिएको भिडियोमा फिल्मका अधिकांश कलाकार देखिएका छन् । यद्यपि, मुख्य अभिनेता सौगात मल्लसँग सम्बन्धित दृश्यहरू भने केही दिनपछि छायांकन गरिने गरी बाँकी राखिएको छ ।
मैनिषा गौचन र प्रवीण श्रेष्ठको कथा रहेको यस फिल्मको सम्पादन पनि निर्देशक श्रेष्ठ स्वयंले गरिरहेका छन् । श्याम तामाङ र उनकी टोलीले छायांकन गरेको यस फिल्ममा दिनेश बहादुर राउत एसोसिएट निर्देशक तथा तर्कराज न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।
नेवारी भाषामा ‘दाई’लाई ‘डाई’ भनिने भएकाले सोही आधारमा फिल्मको शीर्षक राखिएको निर्देशक प्रवीण श्रेष्ठले बताएका छन् । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति तथा श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण भएको ‘बब डाई’ कमेडी जनरामा आधारित फिल्म हो । फिल्ममा सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको छ । सौगातले ‘बब डाई’ नामक शीर्ष पात्र निर्वाह गरेका छन् ।
चलचित्रमा सौगात र सिम्रनका साथै सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोख्रेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी लगायत कलाकारहरूको अभिनय रहेको छ । बालकलाकारका रूपमा अग्रिम पण्डितले अभिनय गरेका छन् ।
राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रविन्द्र प्रजापती हुन् । ‘बब डाई’ २०८३ सालभित्र प्रदर्शन गर्ने तयारी रहेको छ भने प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।