नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्म ‘पार्वर्ती’को छायांकन सम्पन्न भएको छ । निर्माण टिमका अनुसार फिल्मको सुटिङ जम्मा २२ दिनमै सकिएको हो ।
गत चैत २४ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मिर्सा गाउँमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको थियो । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गरेको यस फिल्मलाई सुरुमा एक महिनाभित्र सक्ने लक्ष्य राखिएको भए पनि निर्धारित समयभन्दा ८ दिन अगावै काम पूरा गरिएको हो ।
फिल्मको कथा तथा पटकथा स्वयं निर्देशक ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट लेखन शिवम् अधिकारीले गरेका हुन् । छायांकन निर्देशक (डिओपी) सुदिप बराल रहेका छन् भने सरोज अधिकारी क्रियटिभ निर्देशकका रूपमा आबद्ध छन् । म्युजिक भिडियोमार्फत चर्चित बनेका सरोजले यस फिल्मबाट पहिलो पटक क्रियटिभ निर्देशकको रूपमा काम गरेका हुन् ।
फिल्ममा नीता ढुङ्गानाले नै मुख्य भूमिका निर्वाह गरेकी छन्। उनका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय देख्न पाइनेछ ।
फिल्ममा शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता रहेका छन् भने हरिहर अधिकारी निर्माता हुन्। सम्पादन साहिल खानले गर्नेछन् र पोस्टर डिजाइन रोयल भिमसेनले तयार पार्नेछन् ।
निर्माण टिमले फिल्म आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिरहेको जनाएको छ । तोकिएको मितिमा रिलिज सुनिश्चित गर्न पनि छायांकन कार्य तीव्र गतिमा सम्पन्न गरिएको बताइएको छ ।