नेपाली फिल्म ‘झिँगेदाउ’ को सिक्वेल ‘झिँगेदाउ २’ को प्रदर्शन मिति औपचारिक रूपमा तय गरिएको छ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो फिल्म आगामी असोज २ गते, संविधान दिवसको अवसर पारेर देशभर प्रदर्शनमा आउनेछ ।
निर्माण टिमले चार प्रमुख कलाकार समेटिएको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज डेट सार्वजनिक गरेको हो । यसअघि फिल्मलाई दसैंको फूलपातीमा रिलिज गर्ने योजना भए पनि सो समयमा अन्य फिल्महरूसँग प्रतिस्पर्धा बढ्ने देखिएपछि सुरक्षित मिति रोजिएको निर्देशक देउजाले बताएका छन् ।
सार्वजनिक पोस्टरमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा तथा अभिनेता महेश त्रिपाठी र कुशल विष्ट फरक–फरक क्यारेक्टर लुकमा देखिएका छन्, जसले फिल्मप्रति उत्सुकता बढाएको छ ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल र आशिष पुरुषलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको कथा स्वयं निर्देशक ज्ञानेन्द्र देउजाले तयार पारेका हुन् भने पटकथा परिच्छेद सेन, गोविन्द फुँयाल र शिशिर चालिसेले लेखेका छन् । रोशन श्रेष्ठले द्वन्द्व निर्देशन गरेका छन् भने रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र मित्र डी गुरुङको सम्पादन रहनेछ ।
फिल्मका निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् भने छायांकन बिष्णु घिमिरे (कल्पित) ले गरेका छन् । प्रोडक्सन म्यानेजरका रूपमा ईश्वर घिमिरे रहेका छन् भने पासाङ टी शेर्पा र मानिक पाख्रिनले कला निर्देशन सम्हालेका छन् ।