नेपाली चलचित्र ‘जूबा’को औपचारिक रूपमा छायांकन सुरु भएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने यस चलचित्रको पहिलो चरण सर्लाहीबाट आरम्भ गरिएको हो ।
बुधबार शुभमुहूर्तसँगै सुरु गरिएको छायांकन प्रारम्भिक रूपमा ७ दिनसम्म सर्लाहीमा चल्नेछ । त्यसपछि काठमाडौंसँगै भारतको राजस्थानमा पनि छायांकन गरिने निर्माण टिमले जनाएको छ । कुल ७५ दिनको विस्तृत छायांकन तालिका तय गरिएकोले यो चलचित्र ठूलो क्यानभासमा तयार हुने र पूर्ण सिनेम्याटिक अनुभव दिने संकेत देखिएको छ ।
चलचित्र ‘जूबा’मा मुख्य भूमिकामा सौगात मल्ल देखिनेछन् । प्रकाश कर्णको लेखन तथा निर्देशनमा बन्ने यस फिल्मको स्क्रिनप्ले र कथा विकास वर्षा पौडेलले गरेकी हुन् । साथै, निर्देशक कर्ण र वर्षा पौडेल दुवै क्रिएटिभ प्रोड्युसरको भूमिकामा छन् ।
यस चलचित्रमार्फत सोफी धरेलले नायिकाको रूपमा डेब्यु गर्नेछिन् । सौगात र सोफीसँगै सुधन पोखरेल पनि प्रमुख भूमिकामा छन् । यसअघि दुई चलचित्रमा अभिनय गरिसकेका सुधनका लागि यो पहिलो मुख्य भूमिका भएको फिल्म हो । रक क्यासल स्टुडियोको निर्माणमा बन्ने ‘जूबा’ घोषणा भएसँगै सार्वजनिक गरिएका तीन क्यारेक्टर पोस्टरले दर्शकमाझ चासो बढाइसकेको छ ।
पहिलो पोस्टरमा सौगात मल्ल क्यामेरासामु नमस्ते गरिरहेको देखिएका थिए । दोस्रो पोस्टरमा उनी पिसिओमा उभिएर फोनमा कुरा गरिरहेका छन्, जहाँ उनको र सोफीको गेटअपले करिब दुई दशकअघिको परिवेश झल्काउँछ । सो पोस्टरमा सोफी केही रिसाएकी देखिन्छिन् भने सौगात फोनमा व्यस्त छन् ।
तेस्रो पोस्टरमा खलपात्रको भूमिकामा रहेका सुधन पोखरेल सिगार तान्दै देखिन्छन्, जसले उनको कडा र खतरनाक पात्रको संकेत गर्छ । यद्यपि, चलचित्रको कथा, अन्य कलाकार र प्राविधिक पक्षबारे निर्माण टिमले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।