निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको मुख्य विषयवस्तुबारे संकेत दिएको हो ।
सार्वजनिक टिजरमा सामान्य परिवारका सपना, संघर्ष र निराशाको कथा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । बाबुले आफ्ना इच्छाहरू त्यागेर छोराको उज्ज्वल भविष्यका लागि देख्ने सपना र त्यो सपना अधुरो रहँदाको पीडा टिजरमा स्पष्ट झल्किएको छ ।
विशेषगरी, छात्रवृत्तिमा निर्भर हुनुपर्ने विद्यार्थीको बाध्यता र त्यसबाट वञ्चित हुँदा भोग्नुपर्ने पीडालाई टिजरले प्रभावशाली रूपमा देखाएको छ । पढाइमा उत्कृष्ट हुनैपर्ने सामाजिक दबाब र सरकारी नीतिका कारण गरिब तथा विपन्न वर्गका विद्यार्थी कसरी अवसरबाट टाढा रहन्छन् भन्ने यथार्थलाई चलचित्रले उठान गर्ने संकेत गरेको छ ।
त्यस्तै, परिवारको अपेक्षा, आफ्ना आकांक्षा र त्यसलाई पूरा गर्न नसक्दा बालमनोविज्ञानमा पर्ने असरलाई पनि टिजरले संवेदनशील रूपमा चित्रण गरेको छ । यसले चलचित्रले नेपाली समाजका धेरै परिवारको प्रतिनिधित्व गर्ने कथा भन्ने अनुमान गर्न सकिन्छ ।
‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका निर्माता पौडेलको यो नयाँ चलचित्रले वर्तमान शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असर र त्यसको दीर्घकालीन प्रभावलाई मुख्य विषय बनाएको छ ।
जोन योञ्जनको निर्देशनमा बनेको ‘रोल नं १’ मा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा देखिएका छन् । साथै बाल कलाकारहरूमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रमा छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माताका रूपमा रहेका छन् । महेश दवाडीले लेखेको यस चलचित्रको छायांकन म्याग्दी जिल्लाका विभिन्न ग्रामीण तथा प्राकृतिक स्थलहरूमा गरिएको हो। छायांकन निर्देशक शिवराम श्रेष्ठ रहेका छन् ।
प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको पृष्ठसंगीत, फिरोड खड्काको सम्पादन संयोजन तथा मदन घिमिरेको सम्पादन रहेको चलचित्रमा कला संग्रौलाले प्रोडक्सन डिजाइन र मनोज जोशीले प्रोडक्सन हेडको जिम्मेवारी सम्हालेका छन् ।
‘रोल नं १’ आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउनेछ। निर्माता पौडेलका अनुसार चलचित्र नेपालसँगै विदेशमा पनि एकसाथ रिलिज गरिनेछ भने यसको वितरण रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले गर्नेछन् ।