अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘वारि बर पारी पिपलु’ बोलको गीत सार्वजनिक गरिएको हो ।
चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको उक्त गीतले फिल्मको मूल कथाभावलाई संकेत गर्छ । गीतमा ‘नेपाल आइडल’का विजेता गंगा सोनम र करण परियारको स्वर समावेश छ । विशेषतः गंगा सोनमका लागि यो गीत पाश्र्व गायनको डेब्यु बनेको छ ।
ग्रामीण परिवेशमा छायांकन गरिएको गीतको भिडिओमा नवविवाहित जोडीको प्रेमकथा प्रस्तुत गरिएको छ । विपिन कार्की र केकी अधिकारीले नवविवाहित जोडीको भूमिकामा अभिनय गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा उनीहरूको प्रेमिल दैनिकी, बिहानको पूजाआजा तथा खेतबारीका कामहरूलाई जीवन्त रूपमा देखाइएको छ ।
लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको ‘काजी’ रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति हो । फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने निर्मातामा रामप्रसाद रिजाल, नेहान रिजाल र विकास राज जोशी रहेका छन् । कार्यकारी निर्माता अशिम काफ्ले हुन् ।
फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहनी, विनोद न्यौपाने, रश्मी भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी, दिक्षिता अर्याल, आरव बराल र सुपला सापकोटालगायत कलाकारको अभिनय रहेको छ ।
निर्माण टिमका अनुसार ‘काजी’ भावनात्मक तथा सामाजिक कथामा आधारित फिल्म हो, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विविध पक्षलाई उजागर गर्ने प्रयास गरेको छ । प्रदीप भारद्धाजको कथा रहेको फिल्ममा छायांकन चिन्तन राजभण्डारीले गरेका हुन् भने सम्पादन विपिन मल्लले गरेका छन् । ‘काजी’ जेठ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।