सेलिब्रेटी नेपालको आयोजना तथा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव सम्पन्न भएको छ । मधेश प्रदेशमै पहिलोपटक आयोजना गरिएको महोत्सवले तीन दिनसम्म विविध कार्यक्रममार्फत उल्लेखनीय दर्शक सहभागिता जुटाएको आयोजकले जनाएको छ ।
सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी।सी। प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै सर्लाहीमा महोत्सव आयोजना हुनु स्थानीय पहिचान प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।
महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन गरिएका थिए । कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहित पारम्परिक पहिरन प्रस्तुत गरिएको थियो भने मधेशको कथा, संस्कृति र पर्यटन प्रवर्द्धनमा केन्द्रित अन्तरक्रियात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिएका थिए ।
कार्यक्रममा निर्माता छविराज ओझा, हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी तथा हरिपुर नगरपालिकाका प्रमुखलगायतको विशिष्ट उपस्थिति रहेको थियो । महोत्सवका अवसरमा विभिन्न विधामा उत्कृष्ट कलाकार र स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
महोत्सवमा ‘मोहर’ उत्कृष्ट चलचित्र घोषित भयो भने सोही फिल्मका निर्देशक ओम प्रतीक गुरुङ उत्कृष्ट निर्देशक बन्नुभयो। ‘गुन्युचोलो’ का नाजीर हुसेन उत्कृष्ट अभिनेता घोषित हुँदा ‘कोशेढुंगा’ की सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री बन्न सफल भयो ।
यसैगरी, ‘गुन्युचोलो’ का समुन्द्र भट्ट र नाजीर हुसेनले उत्कृष्ट स्क्रिनप्ले अवार्ड जितेका छन् । निर्देशक मिलन तामाङ (‘माइतीघर’)ले जुरी अवार्ड प्राप्त गर्दा ‘कोशेढुंगा’ का मन्जिल कुमार इन्करेज्मेन्ट अवार्डबाट सम्मानित भयो ।
प्राविधिकतर्फ ‘कोशेढुंगा’ का नहकुल खड्क उत्कृष्ट सम्पादक र बाबु श्रेष्ठ उत्कृष्ट छायाँकार घोषित भयो । आदिवासी चलचित्रतर्फ ‘नाक्छोंग’ (निर्देशक किरण राई) उत्कृष्ट ठहरियो भने ‘निलो आकाश’ (निर्देशक निर्मल पौडेल) उत्कृष्ट छोटो चलचित्रका रूपमा छनोट भयो ।
आयोजकका अनुसार महोत्सवको पाँचौँ संस्करणले मधेश प्रदेशमा नेपाली चलचित्रको प्रवर्द्धन र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको छ । साथै, ग्रामीण क्षेत्रका कथा, भाषा र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यमा पनि टेवा पुगेको विश्वास लिइएको छ ।