नेपाली चलचित्र ‘महाराजधिराज’को कलाकार लाइनअप अझै मजबुत बन्दै गएको छ । निर्माण टिमले अभिनेता सुशील सिटौलालाई फिल्ममा अनुबन्ध गरेको घोषणा गरेको छ । केही दिनअघि मात्रै अभिनेत्री पूजा शर्मालाई भित्र्याएको टिमले अब अर्को अनुभवी कलाकारलाई पनि जोडेको हो ।
सुशील सिटौलालाई फिल्ममा मुख्य भूमिकामध्ये एकमा देख्न सकिने जनाइएको छ । नेपाली चलचित्र क्षेत्रमा उनले राम्रो अभिनय क्षमता देखाए पनि अपेक्षाकृत कम चर्चा पाएका कलाकारका रूपमा चिनिन्छन् ।
कलाकार अनुबन्ध गर्ने प्रक्रिया अन्तिम चरणमा पुग्दै जाँदा ‘महाराजधिराज’को लाइनअप निकै आकर्षक बनेको छ । यसअघि नै मुख्य भूमिकामा अभिनेता पुष्प खड्का अनुबन्ध भइसकेका छन् ।
निर्देशक परिच्छेद सेनको निर्देशनमा बन्ने यस चलचित्रमा सुशील, पुष्प र पूजासँगै केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कलाकारको सहभागिता रहनेछ ।
निर्देशक सेनको ड्रीम प्रोजेक्ट मानिएको ‘महाराजधिराज’मा करिब ८० जना कलाकार रहने जनाइएको छ । पुराना र नयाँ पुस्ताका कलाकारको संयोजनमार्फत फरक स्वाद दिन खोजिएको निर्माण टिमले जनाएको छ ।
प्रस्तुतकर्ता विराज विष्टका अनुसार, बलियो कलाकार समूह भएकै कारण फिल्म पनि सशक्त बन्ने अपेक्षा गरिएको छ । चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु गरिनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा आकर्षक स्थानहरूमा छायांकन गरिने योजना छ। फिल्मको छायांकन नवराज थापाले गर्नेछन् ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रको कथा तथा पटकथा निर्देशक सेन स्वयंले तयार पारेका हुन् । निर्माणमा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट संलग्न छन् । निर्माण टिमका अनुसार ‘महाराजधिराज’ आगामी फूलपातीको अवसरमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।