नेपाली फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक गरिएको छ । एक्सन–ड्रामामा आधारित यो चलचित्र आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । ‘कुम्भ’को टिजर आरएए डिजिटल नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
टिजर सार्वजनिक भएसँगै दर्शकमाझ फिल्मप्रति चासो उल्लेखनीय रूपमा बढेको छ । सार्वजनिक झलकले फिल्मको गाढा, तीव्र र एक्सनप्रधान शैलीलाई प्रस्ट देखाउँछ । सशक्त ब्याकग्राउन्ड संगीत, आकर्षक छायांकन र पात्रहरूको प्रभावशाली प्रस्तुतिले ‘कुम्भ’ ठूलो क्यानभासमा निर्माण गरिएको संकेत दिन्छ ।
फिल्ममा अशोक आर्यन मुख्य भूमिकामा छन् । उनीसँगै सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का र अफ्सना थापा लगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ । साथै, दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको सहभागिताले फिल्मलाई अझ व्यापक दर्शकसम्म पुर्याउने अपेक्षा गरिएको छ ।
‘कुम्भ’का लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन् । उनले गीतका शब्दसमेत लेखेका छन् भने संगीत अनुप तिवारीले तयार पारेका छन् । ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गरिनेछ। छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको छ ।
फिल्मको छायांकन र सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेका हुन् भने द्वन्द्व निर्देशन संजय थापाले सम्हालेका छन् । निर्माणमा रणधीर श्रेष्ठ र राजेश साह रहेका छन् भने कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन् । एक्सन र रोमान्सको सन्तुलित मिश्रण बोकेको ‘कुम्भ’ले नयाँ र अनुभवी कलाकारहरूको संयोजनमार्फत नेपाली फिल्म उद्योगमा फरक स्वाद प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।